काठमाडौं । अभिनेत्री पूजा शर्माले प्रेमी युद्ध बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारी गरेकी छन् । ‘ट्याग’ नामक यो रेस्टुरेन्ट आगामी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने पूजाले बताएकी छन् ।
तर यसको सफ्ट–लञ्च चाहिं भइसकेको छ । सेलिब्रिटीहरु उक्त रेस्टुरेन्टमा ग्राहकको रुपमा पुग्न थालेका छन् । शोभित बस्नेत र सलोन बस्नेत लगायतका कलाकारले त्यहाँ पुगेर मिडिया अन्तर्वार्ता पनि दिइसकेका छन् ।
एक वर्ष लामो तयारीपछि चार करोड रुपैयाँमा रेस्टुरेन्ट तयार भएको पूजाले बताइन् । यस्तोमा अभिनेत्री गौरी मल्ल पूजाको उक्त रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी छन् । गौरीले उक्त रेस्टुरेन्टमा पुगेर खाएको खानाको तस्वीर सेयर गर्दै पहिलो ग्राहक भएको जनाएकी छन् । गौरीले रेस्टुरेन्टमा तिरेको पैसालाई पनि पूजाले मन्दिरमा राख्ने बताएकी छन् । उक्त पैसामा पूजाले गौरीको सम्मानमा केही शब्द पनि लेखेकी छन् ।
यसबारे गौरीले फेसबुकमा लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा-युद्धको पहिलो ग्राहक र पाहुना बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किंदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद लिंदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस्, हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’
त्यस्तै गौरी आफ्नो रेष्टुरेन्टमा आएपछि पुजाले लेखेकि छिन् , ‘हाम्रो रेष्टुरेन्टको पहिलो अतिथी नेपाली फिल्म क्षेत्रकी सर्वाधिक चर्चित र प्यारी दिदी गौरी मल्ललाई पाउँदा अत्यन्त हर्षित छु । फिल्म क्षेत्र मेरो दोश्रो घर हो । सोही घरबाट पहिलो पाहुना देख्दा हर्षले उत्साहित भएकी छु । गौरी मल्ल दिदीको आशिष र माया सुरुवातमै पाएकी छु । यसले, हामीलाई अझै राम्रो काम गर्दै जाने प्रेरणा मिलेको छ । आशा छ, हजुरहरुले पनि ट्यागलाई आफ्नै बनाउनु हुनेछ र धेरै माया दिनुहुनेछ । शुक्रबारबाट औपचारिक रुपमा ट्यागमा यहाँहरुलाई स्वागत गर्न हामी आतुर छौं । लभ यू गौरी दिदी ।’
पूजाले फेसबुकमा बिलको फोटो पनि राखेकी थिइन् तर पछि थुप्रै टिप्पणी आएपछि हटाएकी छन् । कतिपयले पूजाको रेस्टुरेन्टमा मिल्क टीको मूल्य डेढ सय रुपैयाँ भन्दै कटाक्ष पनि गरेका छन् । साथीहरुसँग त्यहाँ पुगेकी गौरीले चार कप दूध चियासँगै दुई प्लेट चिकेन स्टिम म:म, एक प्लेट फ्रुट सलाद, एक प्लेट पनिर पकौडा र एउटा अमेरिकानो मगाएकी थिइन् । यसको बिल २ हजार ६०५ रुपैयाँ छ ।
FACEBOOK COMMENTS