काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज मुलपानी, डाँछी र अनामनगर फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध पारेको छ ।
प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको हो ।
लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार गोसले जानकारी दिएका छन् । अन्य कुनै कारण नभएर लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको उनको भनाइ छ ।
उनका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको छ ।
यसैगरी डाँछी फिडरअन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटीलगायतका क्षेत्रमा मध्याह्न १२ः३० बजेसम्म, रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने पानीट्याङ्की, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो, गोरखा एफएमलगायतका क्षेत्रमा बुलकी ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको छ ।
FACEBOOK COMMENTS