काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले हालको राजनीतिक परिवेशले देशमा नयाँ आशा र सम्भावना सिर्जना गरेको बताएका छन् ।
शुक्रवार चेम्बरको ७५औँ वर्षगाँठ (हीरकजयन्ती) समारोहमा बोल्दै उनले अहिलेको राजनीतिले आशाको सञ्चार गरेको बताए । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि नेपालको राजनीति संवेदनशील मोडमा पुगेको तर निर्वाचनको परिणामले आशा जगाएको उनको भनाइ छ ।
कुनै एक दलले झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको भन्दै उनले अभूतपूर्व जनादेशसहित गठन भएको नयाँ सरकारबाट राजनीतिक तथा आर्थिक स्थायित्व, सुशासन र लगानीमैत्री वातावरण निर्माण हुनेमा निजी क्षेत्र विश्वस्त रहेको बताए ।
“हालै सम्पन्न निर्वाचनको परिणामले देशमा ठूलो आशाको सञ्चार सिर्जना गरेको छ,” उनले भने, “अभूतपूर्व जनादेशसहितको नवगठित सरकार देशमा राजनीतिक स्थायित्व, अर्थनीतिको स्थायित्व देशमा सुशासन र लगानीमैत्री वातावरण निर्माण गर्ने बाटोमा हिँड्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । निजी क्षेत्र नयाँ नेतृत्वप्रति आशावादी छ । नयाँ सरकारसँग सँगै अघि बढ्नेछौँ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा पाँच वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने, करिब ६० खर्बको अर्थतन्त्रलाई उल्लेख्य रूपमा विस्तार गर्ने, प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने तथा १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

साथै, विज्ञ मन्त्री र विशेषज्ञमा आधारित प्रशासनिक संयन्त्र स्थापना गर्ने रास्वपाको प्रतिबद्धताले निजी क्षेत्रलाई थप उत्साहित बनाएको अध्यक्ष अग्रवालको भनाइ छ ।

अध्यक्ष अग्रवालले ऊर्जा सुरक्षा, वैदेशिक रोजगारीमा विविधिकरण र आर्थिक आत्मनिर्भरता बढाउने नीति तत्काल आवश्यक रहेको बताउँदै वर्तमान परिस्थितिमा इन्धनमा लगाइएका करदर घटाएर उपभोक्तालाई राहत दिन सरकारसँग आग्रह गरे ।

दीर्घकालीन समाधानका लागि सहरी यातायातमा विद्युतीय सवारी साधनको अधिकतम प्रयोग गर्नुपर्ने र त्यसका लागि ईभी प्रवद्र्धन तथा विस्तारमा जोड दिनुपर्ने उनको धारणा छ । साथै, दीर्घकालीन ऊर्जा प्रवद्र्धन नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनसमेत उनले सरकारसँग माग गरे ।