काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्गार कोषमा सहयोग गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत उद्गार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट सङ्कलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् ।
यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय,नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।
त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति बैंकले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
साथै सम्पर्कविहीन नागरिकहरुको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।

बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।