काठमाडौं । प्रभु बैंकले ट्याक्सी व्यवसायीहरूलाई क्युआर, डेबिट कार्ड र डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू वितरण गरेको हो ।
विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूलाई बिनाझन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन बैंकले चालकहरूलाई सो सामग्री वितरण गरेको हो । हाल बैंकले गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आवद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।
निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरूलाई उपलब्ध गराइने योजना बैंकको छ ।
प्रभु बैंकबाट सहजै ट्याक्सी भाडा तिर्न सकिने व्यवस्था मिलाउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता समेत भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता अनुसार गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आवद्ध भएका ट्याक्सी व्यवसायीहरूको प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन सकिने छ ।
यससम्बन्धी सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानामगर तथा गण्डकी ट्याक्सी व्यवसायको तर्फबाट अध्यक्ष गान्धीराज गिरीले हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँग यो सेवा सुरू भएको उद्घोष समेत गरिएको छ । सो कार्यक्रममा फोन–पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्युआर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरूको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनीकरणका उपायहरू सम्बन्धमा झण्डै १ घण्टाको दृश्यचित्रसहित चेतनामुलक सामग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरू समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS