काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले हार्नेस जिपलाइन प्रालि र गेट–वे हिमालयन रिसोर्ट प्रालिका विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।
छुट सुविधाका लागि बैंकले हार्नेस जिपलाइन र गेट–वे हिमालयन रिसोर्टसँग विशेष सम्झौता गरेको छ । सो सम्झौतामा हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनील थापा, गेट–वे हिमालय रिसोर्टका प्रबन्धक नकुल गिरी र प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख अधिकृत राजु रानामगरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हार्नेस जिपलाइनमा १०% र गेट–वे हिमालयन रिसोर्टका सेवाहरूमा २०% सम्म छुट सुविधा पाउने छन् ।
बैंकको डेबिड तथा क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, गेट–वे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न–भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगायतका साहसिक त्रियाकलापका लागि चर्चित ठाँउ पर्वतको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रालि पछिल्लो तीन वर्षदेखि सञ्चालनमा आएको र छोटो समयमा धेरै साहसिक मनहरूलाई आकर्षित गर्न सफल भएको मानिन्छ ।
यस्तै, आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरूमाझ लोकप्रिय गन्तव्य, भिन्न–भिन्न भाषा संस्कृति, भौगोलिक बनावट भएको लमजुङको सदरमुकाम बेंशीसहरमा अवस्थित गेट–वे हिमालय रिसोर्ट प्रालि पछिल्लो एक दशकदेखि सञ्चालनमा आएको सुविधासम्पन्न रिसोर्टको रूपमा परिचित छ ।
पछिल्लो पटक ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले आफ्ना देश भरका ३०२ वटा शाखा कार्यलय, २८५ वटा एटीएमका साथै ७० वटा भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, छोटो समयको अन्तरालमा बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
FACEBOOK COMMENTS