काठमाडौं । ‘विश्व लगानीकर्ता सप्ताह-२०२४’ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले दुईदिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम आयोजना गरेको छ ।
प्रभु क्यापिटलले बिहीबार र शुक्रबार उक्त तालिम सञ्चालन गरेको हो । धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चोक र मोनाष्टिक कलेज, भानु चोकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेसागत कर्मचारीहरू तालिममा सहभागी भएका थिए ।
दुई कलेजमा गरी करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेसागत कर्मचारीहरू सहभागी तालिममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पुँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापनसम्बन्धी आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरण जस्ता विषयमा प्रकाश पारिएको थियो ।
साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग (आस्बा, सिआस्बा, मेरोशेयर एप) आईपीओ भर्दा पुर्याउनुपर्ने सजगताका बारेमा प्रकाश पारिएको थियो ।
यस्तै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिमसम्बन्धी विषयहरू पनि समेटिएको थियो ।
कार्यक्रमका सहभागीहरूले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण तथा प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समयसमयमा शेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कशप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिशन (आईओएससीओ)को आह्वानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।
FACEBOOK COMMENTS