गाउँ होस् वा शहर, देश होस् वा विदेश जहाँ जानुस् अधिकांश मानिसहरू सम्पत्ति आर्जन गर्न दिनरात दौडधूप गरिरहेका देखिन्छन् । तर, दु:ख गरेर जोडेको सम्पत्तिको सुरक्षा गर्ने विषयमा भने थोरैले मात्र संवेदनशीलता देखाएको पाइन्छ । अधिकांश मानिसहरू आफ्नो सम्पत्तिको सुरक्षाबारे चिन्तन नै गर्दैनन् । त्यसमाथि नेपालमा त झन् थोरैले मात्र यसबारे सोच्ने गरेको पाइन्छ ।
नेपालीहरू बीमा भन्ने शब्द ‘ठग्नु’ जस्तै मान्छन् । किनभने हामीसँग बीमा राम्रोसँग बुझ्ने चेतना अझै विकास भइसकेको छैन । हरेक क्षेत्रमा केही न केही कमीकमजोरी हुन्छन्, त्यसैलाई देखाएर सबैथोक नराम्रो र खत्तम भन्ने हाम्रो सोचले हामीलाई नै धेरै पछाडि धकेलिरहेको छ । फलस्वरुप वर्षौँ दु:ख गरेर जम्मा गरेको सम्पत्ति क्षणभरमै गुमाउन पनि परिरहेको छ । किनभने हामीले हाम्रो कुनै पनि सम्पत्तिको बीमा गरेका हुँदैनौँ ।
बीमा अति आवश्यक भएर पनि बुझ्न र बुझाउन नसकिएकै कारण नेपालीहरू बेलाबखत आइपर्ने प्राकृतिक प्रकोपहरू जस्तै: आगलागी, भूकम्प, बाढीपहिरो र हुरीबतासलगायतको चपेटामा पर्ने गरेका छन् । जसका कारण एकछिन अघिसम्म धनी कहलिएको मानिस एकैछिन्मा सडकमा आउन पनि सक्दछ । यसको ज्वलन्त उदाहरण हेर्ने हो भने ०७२ र यसै वर्ष पश्चिम नेपालमा गएको भूकम्प र त्यसले पुर्याएको क्षतिलाई लिन सकिन्छ । त्यसो त हरेक वर्ष आउने बाढी तथा पहिरोले पनि हजारौँ घर बगाइरहेको हुन्छ भने सयौँको ज्यान गइरहेको हुन्छ । तै पनि हामी बीमाबारे सचेत बन्ने गरेकै छैनौँ ।
सम्पत्ति सुरक्षाका लागि सहज र सुलभ उपायहरू हुँदा पनि हामी किन त्यसबारे बुझ्ने प्रत्यत्न गरिरहेका छैनौँ । नेपालमा निर्जीवन बीमाको वर्तमान अवस्था र भविष्य कस्तो छ, किन नेपालीहरू बीमाप्रति आकर्षित हुन सकिरहेका छैनन्, बीमामार्फत राज्य र आम सर्वसाधारणको सम्पूर्ण सम्पत्ति कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयबारे हामीले प्रभु इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्यसँग विस्तृत कुराकानी गरेका छौँ । प्रस्तुत छ, सीईओ बज्राचार्यसँग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादित अंश–
मुलुकको पछिल्लो बिग्रदो आर्थिक अवस्थाकाबीच नेपालको नीर्जिवन बीमा व्यवसायको अवस्था कस्तो छ ?
बीमा भन्नेवित्तिकै अर्थसँग सम्बन्धित विषय हो । मुलुकको अर्थतन्त्रको अवस्था राम्रो नहुनेबित्तिकै त्यसको असर निर्जीवन बीमा कम्पनीहरूमा पनि परेको छ । तर, बीमा अत्यावश्वक पनि भएकाले अर्थतन्त्र कमजोर बनेको बेलामा यसको महत्व अझ उजार हुँदै गएको छ भन्ने मलाई लागेको छ । अहिलेको यस्तो परिस्थिति रहँदारहँदै पनि हामीले बीमालाई विस्तार गर्ने प्रयासचाहिँ छोडेका छैनौँ । सार्वजनिक भएका पछिल्ला त्रैमासिक वित्तीय विवरणहरूले पनि बीमा व्यवसाय राम्रै चलिरहेको देखाउँछ ।
नेपालमा निर्जीवन बीमा कम्पनीको संख्या १४ वटा छन् । यी कम्पनीहरूको बीचमा प्रभु इन्स्यारेन्स कहाँ छ ?
हामी राम्रो स्थानमा छौँ । किनभने देशभर सातवटै प्रदेशमा प्रदेश कार्यालय र ५० वटा भन्दा धेरै शाखा सञ्जाल छन् । विभिन्न यातायात कार्यालयहरूमा तेस्रो पक्ष (थर्ड पार्टी) बीमाका लागि काउन्टर सञ्चालन गरेका छौँ । निर्जीवनसँग सम्बन्धित सबै प्रकारका बीमा गर्ने र क्षति भइहालेको खण्डमा छिटो र सहज तरिकाबाट दाबी भुक्तानी दिइरहेका छौँ । नेपालका दुईसहित आधा दर्जन भन्दा बढी विदेशी रि–इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्नाका साथै नौवटा रि–इन्स्योरेन्स ब्रोकर्समार्फत पनि हामीले हाम्रा बीमितहरूको बीमालाई झन् भन्दा झन् बढी सुरक्षित बनाएका छौँ ।
हामीले पहिलो प्राथमिकता नेपाली रि–इन्स्योरेन्स कम्पनीलाई नै दिएका छौँ र दिनु पनि पर्छ । प्राविधिक कारणले यहाँ हुन नसकेका बीमाको पुनर्बीमा गर्न हामी विदेशी कम्पनीमा जान्छौँ । हामीले एलाइन्स गरेका कम्पनीहरू अब्बल छन् ।
नेपालमा निर्जीवन बीमा गर्ने कम्पनीहरू अहिले १४ वटा छन् । सबै कम्पनीका प्राय: एकै प्रकारका पोलिसी छन् । प्रतिस्पर्धाचाहिँ कुन विषयमा कसरी हुने गरेको छ ?
नेपालमा निर्जीवन बीमा मोटर (सवारीसाधन)मा मात्रै अनिवार्य गरिएको छ । त्यसमा पनि पूर्ण इन्स्योरेन्स स्वेच्छाले मात्रै गर्ने हो । तेस्रो पक्ष मात्रै अनिवार्य छ । मोटरबाहेक अरु बीमा अत्यावश्यक भएर पनि स्वेच्छाले मात्रै गर्ने/गराउने गरिएको छ, यो एउटा ठूलो समस्याको विषय हो । बीमा मोटरको मात्र होइन सबैको गर्नुपर्छ । अहिले हामीले सबै सम्पत्तिको बीमालाई अनिवार्य गरिनुपर्दछ भन्दै आएका छौँ । हामी अर्थतन्त्रसँगै सम्बन्धित भएकाले पनि यो विषय महत्वपूर्ण र धेरै आवश्यक छ भन्ने हाम्रो बुझाई छ ।
कम्पनीहरूबीच हुने प्रतिस्पर्धाको कुरा गर्नुहुन्छ भने त्यो स्वाभाविक नै हो । यदि बीमाबारे सबैले बुझ्नुभएको भए हामीहरूबीच त्यस्तो कुनै प्रतिस्पर्धा नै हुने थिएन । धेरैले नबुझ्नुभएका कारण बीमा बुझाउने प्रतिस्पर्धा हामीबीच हुने गरेको छ । जुन बीमा हामी कम्पनीका लागि भन्दा कयौँ गुणा बढी महत्वपूर्ण बीमा गर्ने पक्षलाई छ, त्यही कुरा उहाँहरूले बुझ्नुभएन वा बुझेर पनि गर्नुभएन । कतिपय अवस्थामा हामीले बुझाउन नसकेको पनि हुनसक्छ भने कतिपय अवस्थामा उहाँहरूले बुझ्न नखोज्नुभएको पनि हुनसक्छ । तर, जो जसले साना–ठूला समस्या र पीडा भोग्नुभएको छ उहाँहरूले राम्रोसँग बीमाको महत्व बुझ्नुभएको छ । हामी चाहान्छौं अप्ठ्यारो नपर्दै सबैले बीमा र यसको महत्व बुझ्न सक्नुहोस् ।
प्रभु इन्सयोरेन्समा बीमा गरेका बीमितहरू कत्तिको सुरक्षित हुन्छन् ? सुरक्षित हुनाका कारणहरू के–के हुन् ?
हाम्रो कम्पनीबाटै बीमा गराउनुपर्ने मुख्य कारण भनेको हामीले प्रवाह गर्ने सेवा उत्कृष्ट भएर नै हो । जस्तो: इन्स्योरेन्स गराउनेदेखि पछिसम्मको कार्यलाई हामीले कसरी सम्पन्न गर्छौँ भन्ने कुरामा हामी अरुभन्दा धेरै अब्बल छौँ । त्यसकारण प्रभुमै इन्स्योरेन्स गरौँ भन्न चाहान्छु । जब हामी सर्भिसमा अब्बल छौँ भने बीमित पक्षले सुरक्षाको त कुनै चिन्ता लिनै परेन ।
सुरूमा अनलाइनबाट डिजिटाइज हुने कम्पनी प्रभु इन्स्योरेन्स हो । आज हामीले त्यसलाई थप बलियो बनाएर अघि बढाइरहेका छौँ । हामीले टेक्निकल पाटोलाई निकै व्यवस्थित बनाएर अघि बढाइरहेका छौँ । यसले हाम्रा बीमित पक्षलाई सहजता प्रदान गरेको छ ।
तपाइँहरूले बीमितसँग उठाउनुभएको बीमा प्रिमियमबापतको रकम कहाँ कहाँ र कसरी खर्च, बचत वा लगानी गर्नुहुन्छ ?
नियमनकारी निकायबाट प्राप्त हुने निर्देशन र निर्देशिका अनुसार लगानी गर्ने गरिएको हुन्छ । सबैको आ–आफ्नो प्लान हुन्छ त्यसै अनुसार लगानी हुन्छ । ठ्याक्कै यो पैसा यहाँ खर्च वा लगानी हुन्छ भन्ने हुँदैन । जे होस् सुरक्षित हुन्छ ।
बीमितलाई सहजै दाबी भुक्तानी दिनुको सट्टा कम्पनीहरूले आलटाल गरेर दु:ख दिने गर्दछन् भन्ने जनगुनासो रहँदै आएको छ । प्रभु इन्स्योरेन्सले यो समस्यालाई कसरी सम्बोधन गर्ने गरेको छ ?
मेरो विचारमा निर्जीवन बीमा कम्पनीहरू जसरी अघि बढ्नुपथ्र्यो त्यति अघि नबढेर पछि पर्नुको कारणमध्ये यो (दाबी भुक्तानीको समस्या) प्रमुख हो । जुन कुराबारे जनमानसमा गलत बुझाइ छ । कुनै कालखण्डमा कहाँ के भयो भन्नेतिर नगइकन हेर्ने हो भने आजको दिनमा तपाइँले उठाउनुभएको प्रश्नजस्तो समस्या बजारमा पटक्कै छैन । जसले बीमा बुझ्नु नै भएको छैन उहाँहरूले यो खालको कुरा गरिरहनुभएको मेरो बुझाई छ । बीमा गरेर दाबी भुक्तानी नपाइएको घटना कतै पनि छैन, यदि त्यो बीमा साँच्चो हो भने । अन्यथा बीमा गर्नेवित्तिकै त दाबी भुक्तानी पाउने होइन नि । बीमाले त क्षतिपूर्ति दिने हो । त्यो समय आएपछि दिइहाल्छ ।
अर्को कुरा, यदि कुनै दाबी परेको छ भने त्यो दाबीलाई कम्पनीहरूले नियम अनुसार प्रमाणित गर्न समय लाग्छ । त्यसैलाई मानिसहरूले आलटाल र दु:ख दिएको भनिरहनुभएको छ । जब दाबी प्रमाणित हुन्छ त्यस्ता बीमितले भुक्तानी नदिइएको घटना कतै छैन । हामीलाई सम्पूर्ण कागजात प्राप्त भएको एक हप्ताभित्र दाबी भुक्तानी दिने गरिएको छ । यदि कतै ढिलो हुन गयो भने सम्बन्धित पक्षले चासो लिएर जानकारीहरू लिँदा बढी राम्रो हुन्छ । कसैले नियतवस ढिलासुस्ती गरिरहेको छ भने उजुरी गर्ने निकायहरू पनि छन् । त्यसले पनि सहायता प्रदान गर्न सक्छ । तर, प्रभु इन्स्योरेन्सको हकमा त्यसरी ढिलासुस्ती भएको घटना छैन ।
दाबी भुक्तानीको प्रक्रियाहरू के–के हुन् । सामान्यत: कुन्–कुन् अवस्था पार गरेपछि कति दिनमा भुक्तानी पाइन्छ ?
सबैभन्दा पहिला क्षति वा सवारी हराएको पूर्ण विवरणसहित कम्पनीलाई निवेदन दिनुपर्यो । निवेदन प्राप्त भइसकेपछि कम्पनीले आफ्नो तर्फबाट पनि निवेदनउपर अनुसन्धान गर्छ । सँगसँगै बीमित पक्षले निवेदनलाई पुष्टि गर्ने प्रहरी प्रतिवेदन पनि ल्याउनुपर्यो । यदि मोटरसाइकल हराएको घटना हो भने सवारीधनीले दुईवटा साँचो, उक्त सवारीसाधन हराएकै हो र भोलिका दिनमा अरु कसैले पनि प्रयोग गर्न नपाओस् भनेर यातायात व्यवस्था विभागले प्रमाणित गरेको कागजलगायत डकुमेन्टहरू पेश गर्न आवश्यक हुन्छ । यसमा अहिले यहाँ उल्लेख गर्न छुटेका अन्य कागजातहरू पनि हुन सक्दछन् जुन बीमित पक्षले कम्पनीलाई उपलब्ध गराउनुपर्ने छ । तर, प्रक्रियाबेगर कम्पनीले भुक्तानी दिन सक्दैन ।
यदि कुनै कारणले हामीले बीमित पक्षलाई छिटो पैसा (भुक्तानी) त दिउँला, तर त्यो पैसा दिन उपयुक्त थियो कि थिएन भनेर हामीले पनि नियामक लगायतका निकायहरूमा जवाफ दिनुपर्ने हुन्छ । त्यस्तै गलत मान्छेले गलत तवरबाट भुक्तानी लिन नसकोस् भनेर पनि कम्पनी सचेत भइरहेको हुन्छ । त्यसैका लागि हामी घटना प्रमाणितलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका हुन्छौँ । आम जनमानसले यसलाई नकारात्मक कोणबाट नहेरिदिन अनुरोध गर्न चाहान्छु ।
नेपालमा सर्वाधिक हुने गरेको मोटर बीमामा दाबी भुक्तानीको चाप उच्च रहेको बताइन्छ । यो सन्दर्भमा तपाइँको टिप्पणी के छ ?
मोटर अचल नभइ चल्ने भएकाले यसमा कुनै न कुनै प्रकारको क्षति हुनु र दाबीका लागि आउनु नौलो कुरा होइन । अचल भन्दा चल सम्पत्तिमा दाबीको चाप पर्नु स्वाभाविक हो ।
नेपालमा बीमाको बजार पर्याप्त विस्तार भइसकेको छैन । यस्तो अवस्थामा बीमा बढाउन कम्पनीहरूको भूमिका के–कस्तो रहँदै आएको छ ?
यस सम्बन्धमा मैले बारम्बार जोड दिँदै आएको विषय के हो भने बीमा विस्तारका लागि प्राथमिक तहको विद्यालय शिक्षादेखि नै यसबारे विषय समेट्नु पर्दछ । आजको दिनमा यो कुराको कहिँकतै सुनुवाइ भएको जस्तो लाग्छ तर, स्पष्ट छैन । बीमाको पहुँच विस्तारमा एउटा संस्था, बीमा कम्पनी वा कोही व्यक्ति मात्र लागेर सम्भव हुँदैन । अहिले हामीले गरिरहेको चेतनामुलक कार्यक्रमहरू भनेको निश्चित समूहमा मात्रै पुग्दछ । तर, जब विद्यालय शिक्षामै यसबारे विषय समावेश गरेर अघि बढिन्छ भने आम रूपमा पुग्न सहज हुन्छ । एउटा कलिलो मानसिकताको बालबालिकाले समेत बीमा र यसको महत्वबारे बुझ्दछन् र गर्नुपर्दछ भनेर जान्दछन् । उनीहरूले आफ्ना अभिभावकलाई पनि यो कुरा शेयर गर्दछन् । आफ्ना बालबालिकाले पढेर जानेको कुरा सुन्न, जान्न र बुझ्न अभिभावकहरू जहिल्यै उत्सुक हुन्छन् । यसले हरेक मानिसलाई जीवन होस् या निर्जीवन बीमाबारे अभ्यस्त बनाउँदै लैजान्छ । साथै, देशका कुना–कुनासम्म पुग्ने आम सञ्चारका माध्यमले पनि यसलाई फोकस गरिदिनुपर्दछ ।
प्राकृतिक प्रकोपबाट जुन बेला पनि हरेक प्रकारका सम्पत्तिको क्षति हुन सक्दछ । राज्यले मात्र सबैलाई सहयोग गर्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा बीमाले बीमित पक्षको सम्पूर्ण क्षतिको पूर्ति गरिदिन्छ । यसले राज्यलाई समेत ठूलो राहत मिल्दछ । तर, यहाँ राज्यले नै यस्तो कुरा बुझेको जस्तो लाग्दैन ।
तपाइँले बारम्बार सम्पत्ति बीमाबारे प्रसङ्ग जोड्नुभयो । राज्यले पनि बीमा नीतिमार्फत यो कुरालाई अघि बढाउने सङ्केत गरेको छ । त्यस्तो अवस्थामा राज्यका सबै प्रकारका सम्पत्तिको बीमा गर्न नेपाली कम्पनीहरू तयार र सक्षम छन् ?
नेपालमा सबै कम्पनीहरू सक्षम छन् । राज्यले नीति लिनेवित्तिकै हामी त्यस सम्बन्धमा काम अघि बढाउन तम्तयार छौँ ।
– प्रस्तुति : ज्योति जीसी
FACEBOOK COMMENTS