काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार उनलाई हिजो बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरिएको हो ।
ठाकुरप्रसाद मानन्धरलगायतले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा छानबिन चलिरहँदा उनी समातिएका हुन् ।
अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शङ्कास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको भेटिएको छ ।

रेमिट कारोबारको आवरणमा एकै दिन पटक–पटक रकम बैंक खातामा जम्मा भएको पाइएको हो । प्रहरीका अनुसार उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको थियो । महाजु उक्त खाताका सञ्चालकमध्ये एक थिए ।

उक्त बैंकको लेखा शाखामा कार्यरत हुँदा अवैध कारोबारमा प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक प्रमाणले देखाएको प्रहरीको दाबी छ । महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

थप विवरण विज्ञप्तिमा हेर्नुहोस्–


FACEBOOK COMMENTS