काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले असार २९ गतेदेखि मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गर्दैछन् । २०७९ साल असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीले एक वर्षमा एकिकृत कारोबार सुरू गर्न लागेका हुन ।
दुबै कम्पनीले मर्जर सम्बन्धि प्रस्ताव गत जेठ २६ गते सम्पन्न अलग अलग वार्षिक साधारण सभाबाट पारित गरेका थिए । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले जेठ २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते स्वीकृति प्राप्त भएको हो ।
नेपाल धितोपत्र बोर्डले भने असार २६ गते मर्जरका लागि स्वकिृति दिएसँगै कम्पनीहरू एकिकृत कारोबार सुरू गर्न जुटेका हुन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जानकारी कम्पनीहरूले दिएका छन् ।
एकिकृत कारोबारका लागि असार २९ गते देखि ३१ गतेसम्म सम्पूर्ण सेवा बन्द हुने जानकारी समेत कम्पनीले दिएको छ । हाल प्रभु लाइफको चुक्तापूँजी रू. २ अर्ब १९ करोड ६० लाख रहेको छ भने महालक्ष्मी लाइफको रू. २ अर्ब १० करोड रहेको छ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन ।
FACEBOOK COMMENTS