काठमाडौं, ११ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्मा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिनाअघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले ज्येष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।
शर्माको नियुक्ति नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा ऐतिहासिक पनि बनेको छ । उनी पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्त भएका हुन् ।
सेनापति शर्मासँग बंगलादेशमा तीन वर्ष सैनिक सहचारीको रुपमा काम गरेको अुनभव छ । शर्माले संयुक्त राष्ट्र संघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् । शर्मा भारतमा भएको नेपाल भारत द्वीपक्षीय सल्लाहकार समूहको भेलामा पनि सभागी भएका छन् ।
बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।
FACEBOOK COMMENTS