काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको सरकार अहिलेकै गठबन्धनबाट हुने दाबी गरेका छन्।
प्रतिनिधिसभा सदस्यका रुपमा बिहीबार शपथग्रहण गरेपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै दाहालले गठबन्धन सहज रुपमा अघि बढेकाले अब सरकार पनि गठबन्धनबाटै हुने जिकिर गरेका हुन्।
माओवादीले एमालेसँग मिलेर सरकार बनाउने चर्चा भइरहेका बेला दाहालले प्रतिनिधिसभाको सदस्थ भएकै दिन गठबन्धनले नै निरन्तरता पाउने दाबी गरेका हुन्।
उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। संघ र प्रदेश र स्थानीय तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो। आज शपथ ग्रहण पनि राम्रोसँग, उत्साहको वातावरणमा भयो। सरकार पनि त्यसै गरी बन्छ र काम अगाडि बढ्छ।’
सरकार गठनका लागि गठबन्धन फेरिन्छ कि फेरिँदैन भन्ने प्रश्नमा दाहालले भने, ‘यही गठबन्धनले सरकार बनाउँछ।’
कसको नेतृत्वमा अबको सरकार भन्ने विषयमा दाहालले ठोस जवाफ दिएनन्। प्रधानमन्त्रीमा आफ्नो समेत दाबी पेश गरिरहेका दाहालले सरकारको नेतृत्वको बारेमा छलफल भइहरेको जानकारी दिए।
सुरुमा प्रधानमन्त्री तपाईं हो की देउवा भन्ने प्रश्नमा जवाफ दिँदै प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौँ।’
FACEBOOK COMMENTS