काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइतेको वर्गीकरण गरिने बताएका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘कतिपय अझै घाइतेका रुपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरुलाई घाइतेको सूचीमा समावेश गरिन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।’