काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान-२०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष प्रचण्डले भने,‘ उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।’
नले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरू जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरूद्ध आन्दोलन अघि बढाउने बताए । लाखौंलाख जनता सडकमा लिएर हिजो संविधान लेखनका क्रममा फरक मतमा छाडेका मुद्दा अघि बढाउने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनले बताए ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेण्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरूवात गरिसकेको बताए ।
नेपालमा जनताले दसवर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै संगठित र व्यवस्थित रूपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि बताए ।
उनले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकामा आयोजकलाई धन्यवाद दिए । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताए ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ ले माओवादी जनयुद्ध, जनमुक्ति सेना र जनताका कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताए । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उनले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवादी अभियान अघि बढ्नुपर्ने बताए ।
माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ ले जनयुद्धको थालनी र सञ्चालन हुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताए । उनले जनयुद्धको कथा लेख्न बाँकी रहेकाले यसमा सबै योद्धाहरूको ध्यान दिनुपर्ने बताए ।
अर्का डेपुटी कमाण्डर चक्रपाणि खनाल ‘बलदेव’ ले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र सम्भव भएको बताए ।
FACEBOOK COMMENTS