काठमाडौं । राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउने प्रयासस्वरुप नेकपा माओवादी केन्द्र पनि सरकारमा हुँदैछ भन्ने हल्लाबारे अध्यक्ष प्रचण्डको सचिवालयले जवाफ दिएको छ ।
सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदैछ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गर्दै विषयबारे जवाफ दिएको हो ।
‘भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ’ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन । हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौँ,’ प्रचण्डको सचिवालयले भनेको छ ।
बालुवाटार स्रोतलाई उदेत गर्दै केही सञ्चार माध्यमले प्रतिक्रियावादीहरु सल्बलाएको भन्दै माओवादी समेत सत्ता गठबन्धनमा सामेल हुने कोसिस गरिरहेको समाचार प्रकाशित गरेको थियो । कांग्रेस, एमाले र माओवादी लगायत गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिएको सन्देश दिन उनीहरूले यस्तो हर्कत गर्न लागेको समाचारमा उल्लेख छ ।
अहिले पावर सेयरिङका विषयमा सघन छलफल भइरहेको छ । माओवादीले चारवटा मन्त्रालय, केही संवैधानिक पद र सर्वोच्च अदालतको एकजना न्यायाधीश आफूले पाउनुपर्ने दाबी गरेको, कांग्रेस–एमालेले भने तीनवटा मन्त्रालय दिन सकिने जनाउ दिएको तथा माओवादीले भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन मन्त्रालय पाउन सक्ने दाबीसहितको समाचार बाहिरिएको थियो ।
FACEBOOK COMMENTS