काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार ढाल्ने विषयमा पार्टीको कुनै रुचि नरहेको बताएका छन् ।
आज बिहीबार भैरहवामा प्रेस सेन्टर नेपाल, रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार ढाल्नेमा पार्टीको ध्यान नरहेको बताएका हुन् ।
पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत रूपन्देही पुगेका अध्यक्ष दाहालले राजनीतिक स्थिरताका लागि संविधान संशोधन जरुरी रहेको पनि बताए ।
तर, नेकपा (एमाले) र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको बताए ।
‘स्थिरताका लागि संविधान संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ,’ उनले भने, ‘संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ ।’
उनले जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताए । गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको दाहालले बताए ।
उनले अभियानले राष्ट्रिय एकता मजबुत गराउन सहयोग पुर्याउने धारणा व्यक्त गरे । राजावादीहरूको आन्दोलनलाई अराजकतावादीहरूको भीडको सङ्ज्ञा दिँदै अध्यक्ष दाहालले गणतन्त्र र यसले ल्याएको उपलब्धिका विरुद्ध हुने आन्दोलनलार्ई परास्त गर्न जनताको घरदैलोमा पुग्नुपर्ने खाँचो औँल्याए ।
FACEBOOK COMMENTS