काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।
प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरबाही भएको, कर्मचारीका मागहरू बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटारहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरूको पटक–पटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारी उद्योग कलकारखानाहरूको पुनर्संरचना र सुधारका निम्ति माओवादी केन्द्रले चासो र पहल लिँदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए । छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमसमेत सहभागी थिए ।
FACEBOOK COMMENTS