काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् ।
उनले नेकपा एमाले भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएकाले तत्काल एकताको सम्भावना नभएको बताएका छन् । उनले भने- ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध सकेसम्म राम्रो गर्न खोज्यौँ । भएका कमी–कमजोरी पनि हामीले स्वीकारेका छौँ ।’ अरू पार्टीहरूले गल्ती स्वीकार्नै नसक्ने र आत्मसमीक्षा भन्ने कुरा उनीहरूको डायरीमा नभएको प्रचण्डको आरोप छ ।
प्रचण्डले जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्न गाउँ–गाउँ र टोल–टोलमा जाने बताए । राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सुशासन र समृद्धिको आकांक्षा सम्बोधन तथा प्राप्त उपलब्धिको रक्षाका लागि यो अभियान महत्त्वपूर्ण हुने विश्वास प्रचण्डले व्यक्त गरे ।

अभियानअन्तर्गत सबै केन्द्रीय नेताहरू फिल्डमा जाने र जनताका कुरा सुनेर प्रतिवेदन तयार गर्ने प्रचण्डको भनाइ छ। संकलित सबै प्रतिवेदनहरूको समीक्षा गरेर पार्टीले आगामी योजना तय गर्ने उनले बताए । आजदेखि शुरु भएको नेकपाको यो राष्ट्रिय जागरण अभियान आगामी मङ्सिर २५ गते समापन हुनेछ।
