काठमाडाैं । गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार गठन गर्ने तयारी गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा सहयोग गर्ने सिंग्नल दिएपछि हालको गठबन्धन ताेड्ने तयारीमा प्रचण्ड लागेका हुन् ।
चीनबाट फर्किएलगत्तै माओवादी केन्द्रका उपमहासचिव तथा पार्टीभित्र निर्णायक हैसियत राख्ने नेता वर्षमान पुनले एमालेसँग मिलेर सरकार गठन गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयास थालेका हुन्।
एमालेका नेताहरुसँग पुनले यसअघि नै कम्युनिष्टहरु फेरि मिल्नुको विकल्प नरहेको भन्दै आएका थिए । पुन चीनबाट फर्किएलगत्तै एमाले र माओवादीसहितको सरकार बन्न सक्ने सम्भावनाले एकाएक राजनीतिमा चर्चा पाएको छ ।
कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री माओवादीलाई दिन चाहेको छैन र राष्ट्रपति पनि दिन मानिरहेको छैन । प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री पाएर सम्मानजनक शक्ति बाँडफाँट नभए गठबन्धनको यात्रा यही टुंगिने प्रस्ट सन्देश देउवालाई दिएको देउवा निकट एक नेताले बताएका छन् ।
कांग्रेसको चुनावी गठबन्धनबाट माओवादीले फाइदा लिन नसकेको र माओवादीको भोटले कांग्रेसले धेरै ठाउँ जितेको निष्कर्ष नेताहरुको छ । वर्षमानलाई निर्णायक पहल गरेर प्रचण्डलाई बाहिर निकाल्न जिम्मा दिइएको एक स्थायी कमिटी सदस्यले बताए ।
प्रचण्डलाई एमालेको समर्थनमा पहिलो चरणको प्रधानमन्त्री बनाउँदा उनको चाहना पूरा हुने र विस्तारै एमालेसँग पुनः पार्टी मिलाएर कोर्स करेक्सन गर्न सकिने वर्षमानको विश्वास छ । प्रचण्डको व्यवस्थापन हुनासाथ पार्टी मिल्न गाह्रो नहुने माओवादी नेताहरुको बुझाइ छ ।
बिहीबार साँझ माधव नेपालसहित बालुवाटारमा देउवा र प्रचण्डको छलफल भएको छ । यसमा के के कुरा भए भन्ने आइसकेको छैन । तर, वर्षमाननिकट स्रोतले भने प्रचण्डले आफ्नो बटमलाइन देउवालाई सुनाएका छन् । देउवा प्रचण्डको बटमलाइनबाट अप्ठेरोमा परेका छन् ।
चुनावअघि सत्ता गठबन्धनबीच पद बाँडफाड भइसकेकाे चर्चा चलेकाे थियाे । त्यसबेला माओवादीलाई राष्ट्रपति दिने बाचा देउवाले गरेकाे र अहिले आएर धाेका दिएकाे माओवादीका नेताहरू बताउँछन् । जसकाे रिस फेर्न प्रचण्ड एमालेसँग मिलेकाे जानकारहरू बताउँछन् ।
तर, कांग्रेसका केही नेतालेभने प्रचण्डले बार्गेनिङ्ग गर्नकालागि एमालेसँग मिलेकाे जस्ताे गरेकाे बताए । उनका अनुसार एमाले अध्यक्ष ओलीले प्रचण्डलाई कुनै पनि हालतमा प्रधानमन्त्रीमा सहयाेग नगर्ने दाबी समेत गरे ।
तर, माओवादी र एमालेका नेताहरूले भने प्रचण्ड अब हालकाे गठबन्धनमा नरहने निश्चित भएकाे दाबी गरे ।
एमालेलाई राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री हुनेगरी सहमती भएकाे जनाइएकाे छ ।
FACEBOOK COMMENTS