काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए ।
विभिन्न सात राजनीतिक दलसहित कुल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
उनले भने , “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।” नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा दुई सय ७५ सदस्य छन् । जसमा प्रत्यक्ष कुल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हालसम्म निलम्वनमा रहेका छन् । रासस
FACEBOOK COMMENTS