काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताएका छन् ।
आइतबार विभिन्न देशका कम्युनिष्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताए ।
भेटमा प्रधानमन्त्री दाहालले नेपालको कम्युनिष्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिष्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए । यही फेबु्रअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिष्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
प्रधानमन्त्री दाहालले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकामा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्बोधन गरेको बताए ।
नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकामा जोड दिँदै उनले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्बोधन गर्न प्रयत्नशील रहेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आफूहरूकै पहलमा नेपालका कम्युनिष्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्बोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गरे ।
FACEBOOK COMMENTS