काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौ “नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गैरआवासीय नेपाली संघका पदाधिकारीसँगको भेटमा उनले विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई सरकारले क्रमशः सच्याउँदै आएको र बाँकी रहेको कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी राख्ने बताए ।
“नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईहरुलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु” उनले भने ।
प्रधानमन्त्री दाहालले विदेशमा लाखौं नेपालीहरु रहेको र आफुले दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरेको भन्दै अब तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्ने बताए ।
भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट संम्बोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखिन् ।
यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।
विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखे ।
FACEBOOK COMMENTS