काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालसहितका उद्योगी–व्यवसायीहरू भोलि शुक्रबार दोलखा जाने भएका छन् ।
दोलखा उद्योग वाणिज्य संघले भोलिदेखि दोलखाको चरिकोटमा आयोजना गर्ने १० दिने दोलखा महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डसहित राष्ट्रियस्तरका उद्योगीहरू दोलखा जान लागेका हुन् ।
‘दोलखा महोत्सवको दिव्यदृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ नारासहित सुरू हुने महोत्सव भोलि बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन गर्ने तयारी छ । सो महोत्सवमा सहभागी हुन समग्र उद्योगी व्यवसायीहरूको छाता संस्था एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकालसहित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, एसोसिएट्स तर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी र महासंघका केन्द्रीय सदस्यहरू दोलखा जान लागेका हुन् ।
दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशाला (टुँडीखेल)मा आयोजना हुने ‘वृहत् दोलखा महोत्सव, २०८०’ को उद्घाटन समारोहमा दोलखा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरू, संघ, प्रदेश र स्थानीय तहमा आबद्ध जनप्रतिनिधिहरू, सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरू, जिल्लास्थित सम्पूर्ण बैंक, सहकारी, लघुवित्त तथा बीमा कम्पनीमा आबद्ध व्यक्तिहरू तथा निजामतिलगायत सबै क्षेत्रमा क्रियाशील कर्मचारीहरू र स्थानीय जनसमुदायको व्यापक सहभागिता रहने दोलखा उद्योग वाणिज्य संघका सदस्य श्यामसुन्दर शिवाकोटीले जानकारी दिए ।
यस्तै, जिल्लाभरका सबै विद्यालयहरूमा आबद्ध सम्पूर्ण शिक्षक तथा विद्यार्थी र अभिभावक र छिमेकी जिल्ला रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरलगायत जिल्लाहरूबाट समेत उल्लेख्य सहभागिता रहने उनको भनाइ छ । महोत्सवको उद्घाटन समारोहमा उपस्थिति हुने सबैलाई आधिकारिक निमन्त्रणा पठाइएको समेत उनले बताए ।
उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाती, भाषाभाषी र समुदायहरूका कला–संस्कृति समेटिएको झाँकी प्रदर्शनसहित भोलि बिहान १० बजे चरिकोट बजारको सातदोबाटो चोकबाट भव्य र ऐतिहासिक र्याली निकालिने संघले जनाएको छ । झाँकीसहितको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरेर भीमेश्वर रङ्गशालामा पुगेपछि उद्घाटन समारोह सुरू हुने संघका सदस्य शिवाकोटीले जानकारी दिए ।
के–के हुन्छ महोत्सवमा ?
राजधानी काठमाडौंबाट नजिकै रहेको बागमती प्रदेशको सुन्दर हिमाली जिल्ला दोलखाले आर्थिक क्रान्तिका आधारहरू तय गर्ने महान लक्ष्य बोकेर आयोजना गर्न लागिएको महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका ‘पमा सिङ्गो राष्ट्रमाझ चिनाउने र आर्थिक विकासमा फड्को मार्ने खुड्किलो बन्ने अपेक्षा राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्रीवितरण तथा प्रवर्द्धन गर्नेगरी १५० वटा स्टल राखिने छ । सबै स्टलहरू बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ ।
ती स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघ संस्था, उद्योगी व्यवसायीका उत्पादन, सामग्रीहरू प्रर्दशनीका लागि राखिने छ । साथै विभिन्न खानाका परिकारहरू समेत स्टलमै उपलब्ध हुने बताइएको छ ।
अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यु इयर इभ’ का रूपमा मनाउने संसारभरको प्रचलन अनुसार दोलखा भ्रमणमा आउने पर्यटकको स्वागतका लागि पुस १५ गते चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गरिने छ । यो फेस्टिभलको नारा ‘सडकमै खाउँ, सडकमै नाँचौं, सडकमै रमाऔं’ राखिएको छ ।
महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रर्दशनीका साथै वृत्तचित्र प्रदर्शनी समेत गरिने छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति पालैपालो रहने छ । यस्तै, चरिकोट टुडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिताहरू, विद्यालयस्तरीय प्रतियोगिताहरू यो महोत्सवको आकर्षणका रूपमा रहने छ ।
दोलखालाई लगानीमैत्री जिल्लाका रूपमा विकास गर्ने उद्देश्य अनुसार जिल्लाको आर्थिक विकासका लागि हातेमालो गर्न सरकारका सबै निकायसँग अनुरोध गर्दै विशेष सम्मेलनको सेसन समेत राखिएको छ । पर्यटन, कला संस्कृति, जलस्रोत तथा कृषि क्षेत्रमा धनी दोलखाको आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि महोत्सव कोसेढुङ्गा सावित हुने अपेक्षा राखिएको संघले जनाएको छ ।
संघले दोलखाका प्रसिद्ध पर्यटकीय स्थलहरू दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, बिगु गुम्बा, चरिकोट बजार, जिरी बजार, रोल्वालिङ उपत्यका, हनुमन्ते डाँडालगायतका प्रख्यात पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरेको छ ।
को–को आउँछन् कलाकाहरू ?
साङ्गीतिक मनोरञ्जनका लागि कलाकार मिलन नेवार, राजनराज शिवाकोटी, विश्वधुङ एलिना चौहान, हरिबहादुर राउत, प्रीति आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाईँ, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउतलगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
‘बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र, १३० भन्दा बढी स्टल बुकिङ
FACEBOOK COMMENTS