काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् । आफ्नै निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा प्रचण्डले विवादकै कारण एनआरएनए तितरबितरको अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरेका हुन् । फुटेर नभई एकताबद्ध भएको खण्डमामात्रै समृद्ध नेपाल निर्माणका लागि एनआरएनएको भूमिका प्रभावकारी हुन सक्ने उनको भनाइ छ । विगतदेखि नै आफूले एकताबद्ध एनआरएनएका लागि भूमिका खेलेकोसमेत प्रचण्डले भेटका क्रममा स्मरण गरे।
२०८० असारमा प्रचण्डकै मध्यस्थतामा विभाजित अवस्थामा रहेका तत्कालीन दुई एनआरएनए (अध्यक्ष बद्री केसी, कुल आचार्य र रविना थापा पक्ष तथा विनोद कुँवर पक्ष) बिच एकता गर्ने सहमति जुटेको थियो । तर, त्यतिबेलाका तीन अध्यक्षमध्ये बद्री केसीले नचाहेसँगै एकता भाँडिएको थियो भने पछि विवाद थप बढेर विभिन्न समूहमा एनआरएनए रहेका छन् ।
सोही प्रसङ्गलाई स्मरण गर्दै प्रचण्डले भने, ‘एनआरएनए प्रवासमा रहेका नेपालीहरूको सुखदुखको साथी हो । तपाईंहरुको जुन उद्देश्य छ, एक नभईकन त्यो पूरा हुन गाह्रो छ । विगतमा पनि मैले एकताका लागि पहल गरेको थिएँ । अब पनि त्यसका लागि पहल गर्छु ।’ सो अवसरमा एनआरएनए अभियन्ताहरूले एनआरएनएसँग सरोकार राख्ने विषयहरूबारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए । पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता कार्यान्वयनमा ढिलाइ भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘यहाँकै हातबाट लिएको गैरआवासीय नेपाली नागरिकता अहिलेसम्म प्रयोगमा आउन सकेको छैन’, गैरआवासीय नागरिकता कार्यान्वयन हुन नसक्दा लाखौँ गैरआवासीय नेपाली चिन्तित छौँ । यसमा यहाँबाट सहजीकरणको अपेक्षा राखेको छु।’
संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकताबारे स्पष्ट व्यवस्था गरेर सम्पत्तिको सुरक्षा लगायतमा तलमाथि नहुनेगरी आवश्यक व्यवस्था मिलाउनका लागि समेत उनले आग्रह गरे । यस्तै आफूलाई एनआरएनए अध्यक्ष आरके शर्माले अहिले कतिपय श्रमिक गन्तव्य मुलुकमा पासपोर्ट नवीकरणलगायतको समस्या देखापरेको भन्दै यसका लागि आवाज उठाइदिन आग्रह गरे । उनले आफूहरू एनआरएनए एकताको पक्षमा रहेपनि अर्को पक्षका कारण समस्या उत्पन्न भइरहेको बताए । यसैगरी एनआरएनए घले समुहका अध्यक्ष विनोद कुँवरले केसी पक्षले धोका दिँदा विगतमा प्रचण्डकै सहभागितामा एकता गर्ने सहमति भएपनि सफलता हासिल हुन नसकेको बताए ।
यस्तै अभियन्ता एबम पुर्व उपाध्यक्ष सोनाम लामा र एनआरएनए घले समुहकि महासचिव जानकी गुरुङले एनआरएनए संस्था पवित्र भएपनि संस्था अहिले खराब हातमा पुग्दा समस्या पैदा भएको जिकिर गरे । ‘हामीहरुको यो संस्थामा २० औँ वर्षको लगानी छ । बेथिति चिर्दै पहिलेकै अवस्थामा फर्काउनु पर्छ’, उनले भने। सो क्रममा प्रचण्डले एनआरएनएको तर्फबाट राखिएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै समस्याको समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन ।
शर्माले भेटका क्रममा एनआरएनएको विषयका साथै समसामयिक विषयमा पनि छलफल भएको बताए । उनले एकताबद्ध एनआरएनएका लागि प्रचण्डले जोड दिएको उल्लेख गर्दै त्यसका लागि आफूहरू पनि तयार रहेको बताए । तर, संस्थामा पछिल्लो समय भइरहेको गलत गतिविधिले आफूहरुलाई चिन्तित बनाएको उल्लेख गर्दै शर्माले कोषको रकम दुरुपयोग बढिरहेको समेत उल्लेख गरे ।
भेटमा माओवादीका केन्द्रीय सदस्य समेत रहेका पुर्व उपाध्यक्ष डीबी क्षत्रीको पनि सहभागिता रहेको थियो । सो क्रममा उनले वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष कार्यान्वयनमा रहेपनि यसलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । यस्तै उनले विदेशमा रहेका श्रमिकको समस्या समाधानमा पार्टीको तर्फबाट पनि पहल भइरहेको बताए ।
एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले धाँधली गरेको भन्दै अर्को पक्षले शर्माको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो । तर, यसअघि नै समानान्तर रूपमा १० औँ महाधिवेशन गरेको विनोद कुँवर पक्षको आधिकारिकताको मुद्दामा सर्वोच्चले फैसला गर्दै गत चैत २१ मा एनआरएनएलाई २०७८ माघ १ को अवस्थामा फर्काएर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।जसअनुसार पूर्वअध्यक्ष शेष घलेले तीन टुक्रामा रहेको एनआरएनएको एकताको महाधिवेशन गराउनुपर्ने भएपनि पछि फेरि केसी पक्ष अदालत पुगेको थियो । अदालतले गत साउनमा फैसला गर्दै केसी पक्षलाई बालुवाटारस्थित सचिवालयबाटै काम कारबाही गर्न बाटो खुला गरिदिएपछि शर्मा पक्ष फेरि आफू आधिकारिक रहेको दाबी गर्दै सर्वोच्च गएको अवस्था छ । सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।
FACEBOOK COMMENTS