वीरगञ्ज । वीरगञ्ज–पथलैया परवानीपुर बजारमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्नुको साथै टायर बालेर प्रदर्शन गरेका हुन् ।
चक्काजाम हटाउन र प्रदर्शन रोक्न प्रहरीलाई हम्मेहम्मे परेको छ । विद्यार्थीको भिड नियन्त्रणमा लिने क्रममा प्रदर्शनमा सहभागी केही विद्यार्थी घाइते समेत भएका छन् । नजिकैको स्वास्थ्य चौकीमा उनीहरुको उपचार गरिएको छ । त्यसैगरी विद्यार्थीले गरेको ढुंगा प्रहारबाट प्रहरी तर्फ ४ जना घाईते हुनुको साथै दुईवटा गाडीको सीसा फुटेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ । अंग्रेजी र विज्ञान विषयको विषयगत शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । तीन दिनअघि विद्यार्थीले लिपनीविर्ता स्थित वडा कार्यालयम समेत प्रदर्शन गरेका थिए । प्रदर्शन रोक्न गएको प्रहरीलाई विद्यार्थीले ढुंगा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि १३ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको बताएका छन् ।
FACEBOOK COMMENTS