काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूले अनुसन्धान र न्याय सम्पादनका क्रममा स्थापित कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि प्रतिक्रिया दिँदै उनले पहिले निष्पक्ष र गहिरो अनुसन्धान सम्पन्न गरेर आवश्यक आधार जुटाएपछि मात्र पक्राउको प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
ज्ञवालीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको प्रतिक्रियामा नेकपा (एमाले) को स्थापित मान्यता संवैधानिक र कानुनी अधिकारप्राप्त निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नहरूको कानुनी रूपमा सामना गर्ने तथा अदालतको निर्णयलाई सहज रूपमा स्वीकार गर्ने रहेको उल्लेख गरेका छन् ।
उनले अनुसन्धान र न्याय निरूपणको स्थापित विधिअनुसार पहिले निष्पक्ष र गहिरो अनुसन्धान हुने, त्यसपछि अभियोजन र अदालतको प्रक्रियाबाट अगाडि बढ्ने तथा अत्यावश्यक अवस्थामा मात्रै नियन्त्रणमा लिने अभ्यास हुनुपर्ने बताएका छन् । तर व्यवहारमा भने पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने प्रवृत्ति लामो समयदेखि देखिएको उनको टिप्पणी छ ।
ज्ञवालीले राज्यका निकायहरूको निर्णय कुनै पनि हालतमा पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक आग्रहबाट प्रभावित हुन नहुनेमा जोड दिएका छन् ।
