काठमाडौं । पछिल्लो समय देश आर्थिक सङ्कटको चपेटाबाट गुज्रिरहेको छ ।
अर्थतन्त्रको विद्यमान अवस्थाको सुधार गर्न भन्दै उद्योगी व्यवसायीहरूका विभिन्न संघ संगठनहरूले समय–समयमा विभिन्न सुझावहरू प्रस्तुत गर्दै आएका छन् । तर, सरकारले त्यस्ता सुझावहरूको अक्षरशः पालना नगरेको गुनासो व्यवसायीहरूबाट सुनिँदै आएको छ ।
अहिले मात्र होइन, पहिलेदेखि नै उद्योगी व्यवसायीले विभिन्न सुझाव, कार्यपत्र र प्रतिवेदनहरू समेत अर्थतन्त्रबारे सरकारलाई दिँदै आएका छन् । अधिकांश विषयहरू सकारात्मक भए पनि सरकारले स्वीकार नगर्ने गरेको तीतो यथार्थ सबैका सामु छर्लङ्ग छ । आखिर सकारात्मक कुरा गर्दा गर्दै पनि निजी क्षेत्रको गुनासो र सुझाव ग्रहण गर्न सरकार किन सधैँ आनाकानी गर्छ ? यसबारे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठ के भन्छन् ?
पढ्नुहोस् उनको धारणा–
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा म अध्यक्ष भएको करिब २४ वर्ष बितिसकेको छ । महासंघ सबै उद्योगी तथा व्यवसायीहरूको छाता संगठन हो । जसले व्यावसायिक हकहितका साथै उनीहरूको सहजताका लागि सरकारसँग लविङ गर्ने गर्दछ । तर, पछिल्लो समय महासंघको आवाज सरकारले सुनिरहेको छैन । यस्तो हुनुमा उद्योगी व्यवसायीको अवाजमा सरकारले खेल्ने ठाउँ पाउनु हो । जस्तोः अहिले एफएनसीसीआईसहित व्यावसायिक रूपमा एपेक्स बडी भनेर नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ (सीएनआई), घरेलु तथा साना उद्योग महासंघलगायत संघ संगठनहरू अस्तित्वमा छन् ।
मलाई लाग्छ नेपालको परिवेशमा हाम्रो जस्तो उद्योगको साइज र अर्थतन्त्र भएको ठाउँमा यति धेरै एपेक्स बडीको आवश्यकता नपर्नुपर्ने हो । बिजनेश कमिटी धेरै हुँदा सरकारले हामीमाथि खेलिरहेको र हाम्रो आवाजलाई बेवास्ता गरेको हो कि भन्ने आभाष मलाई भइरहेको छ ।
तर, जे भयो वा जे बन्यो बनिसकेको कुरालाई भत्काउने वा बिगार्ने कुरा पनि आउँदैन । तर, सबै संस्थाले व्यक्तिगत कुरा छोडेर राष्ट्रिय आवश्यकतालाई हेरेर काम गर्नुपर्ने खाँचो मैले देखेको छु । नेतृत्वमा पुग्न पालो कुर्ने भन्दा पनि सक्षमलाई नेतृत्व दिएर उद्योगी व्यवसायीको हितमा काम गराउनुपर्ने बेला भएको छ । महासंघको नेतृत्व भनेको लिने ठाउँ होइन आफ्नो क्षमता देखाएर समय र परिस्थितिले खोजेको कुरा दिने ठाउँ हो । आफ्नो कार्यकालमा राम्रो छाप छोड्ने योजना लिएर त्यो पदमा जानुपर्छ ।
एफएनसीसीआईका अध्यक्षले सरकारका प्रधानमन्त्री वा अरु नेतृत्वहरूलाई भेट्नका लागि समय मिलाउन गाह्रो विषय हुँदैन । तर, अहिले त भेट पनि नदिने गरेको जस्तो अवस्था देखिन्छ । भेट दिइहाले पनि कुरा नसुन्ने प्रवृत्ति देखिन्छ । विगतमा यस्तो हुँदैनथ्यो । यसो हुनुमा कतै हाम्रै कमजोरी छ कि भन्ने पनि लाग्छ ।
नेपाललाई गरिब राष्ट्र भनेर चिन्ने गरिएको छ । तर, वास्तवमा नेपाल गरिब मुलुक हुँदै होइन । सुनको भाँडा बोकेर हामीले माग्नुपर्ने बाध्यता छ । यस्तो अवस्था कसरी सृजना भयो ? सरकारको पोलिसीले हो कि, भिजनको अभावले हो कि वा राजनीतिकरणले हो ? यस्ता प्रश्नको निरूपण गर्दै भावी पुस्ताका लागि सवल र सक्षम देश सुम्पिनु हामी उद्योगी व्यवसायीको पनि कर्तव्य हो । अन्यथा भावी पुस्ताले हामीलाई सराप्ने छन् । त्यसकारण कसैलाई दोष लगाउनु भन्दा पनि सबैले आ–आफ्नो कर्तव्य सम्झिएर हात अगाडि बढाएर काम गर्नुपर्छ । यसैमा सबैको भलाई छ ।
पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका पूर्वध्यक्ष श्रेष्ठसँगको भिडिओसहितको अन्तर्वार्ता आगामी शनिबार प्रकाशित गर्दैछौँ ।
FACEBOOK COMMENTS