काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा संस्था निरन्तर क्रियाशील रहेको बताएका छन् ।
कर्पोरेशनले आफूलाई दैनिक जीवनमा आवश्यक वस्तुको आपूर्तिमा मात्र सीमितमा नगरी कृषि, उद्याे, निर्माण जस्ता क्षेत्रमा पनि सकरात्मक भूमिका खेल्दै आएको उनको भनाइ छ ।
आज बिहीबार काठमाडौंको सोल्टी होटेलमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सरकारको जनताप्रतिको उत्तरदायित्व पूरा गर्ने काममा कर्पोरेशनले सहयोगी भूमिका निर्वाह गर्दै जाने विश्वास दिलाए ।
‘नेपालको अर्थतन्त्रको विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने कुरामा हामी निरन्तर क्रियाशील रहेका छौं । नेपाल सरकारको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ लाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उद्योगबाट उत्पादित इन्डक्शन एवम् सोमा प्रयोग हुने कूकवियरहरूसमेत बिक्री वितरण गर्दै आएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैर–अनुदानिक मल आयात गरी किसानलाई उपलब्ध गराइँदै आएको छ । उत्पादन र बिक्री–वितरणको क्षेत्रमा नुन, चिनी, मैदा, पिठो, चामल, तेल, दाल लगायतका अतिरिक्त खाना पकाउने ग्यास, प्रेसहरूका लागि कागज आदि वस्तुसमेत बिक्री–वितरण गरिँदै आएको छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ बाट सम्मानित (तस्बिरहरू)
उनले देशमा आइपर्ने प्रकृतिक प्रकोप एवम् विपत्तिको बेला कर्पोरेशनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा उल्लेख्य भूमिका खेल्दै आएको पनि स्मरण गराए ।
समाजिक सेवाको क्षेत्रमा कर्पोरेशनले आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्दै आएको उनले उल्लेख गरे ।
नेपाल जनप्रशासन सङ्घको सौजन्यमा साल्ट ट्रेडिङले प्रदान गर्दै आएको ‘हेमबहादुर मल्ल सम्मान’ यसपटक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । न्यायिक क्षेत्रमा उनले पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप २१औं संस्करणको सम्मान श्रेष्ठलाई प्रदान गरिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनको प्रगति र उन्नतिमा निरन्तर आफ्नो दूरदर्शितापूर्ण प्रयास र कुशल व्यवस्थापनद्वारा कीर्तिमानी योगदान पुर्याएका पूर्वव्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्झनामा यो सम्मान स्थापना गरिएको हो । यसकाे राशि दुई लाख रुपैयाँ छ ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लामो समयसम्म बहुआयामिक एवम् बहुपक्षीय प्रयासद्वारा न्याय सेवाको माध्यमले राष्ट्रको सेवामा पुर्याएको विशेष योगदानको कदरस्वरूप यसपटक उनलाई यो सम्मान प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
हेमबहादुर मल्ल सम्मान–२०८० समर्पण समारोहमा साल्ट ट्रेडिङ्ग कपोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठको मन्तव्य–
प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यू
आजका सम्मानित व्यक्तित्व पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठज्यू नेपाल सरकारका सचिवज्यूहरु तथा विशिष्ट पदाधिकारीज्यूहरु
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.का सञ्चालकज्यूहरु
हेम बहादुर मल्ल सम्मानबाट पहिले सम्मानित भईसक्नु भएका विशिष्ट ब्यक्तित्वहरु
नेपाल जनप्रशासन संघका पदाधिकारीज्यूहरु
आमन्त्रित अतिथिगण,
पत्रकार मित्रहरु
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. का कर्मचारी साथीहरु
उपस्थित महिला तथा सज्जनवृन्द ।
हेमबहादुर मल्ल सम्मान समर्पणको यस महत्वपूर्ण समारोहलाई गरिमा प्रदान गर्न हामीलाई आफ्नो अमूल्य समय प्रदान गर्नु भएकोमा प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु सहित सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु । साथै अतिथिहरु लगायत कार्यक्रममा पाल्नु हुने सबैमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट हार्दिक स्वागत एवं आभार ज्ञापन गर्दछु । साल्ट ट्रेडिङ्ग कपोरेशनले गुणस्तरीय व्यावसायिक सेवाका साथै सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो सेवाको आधा शताब्दी भन्दा बढी समय पूरा गरेको छ ।
व्यावसायिक सेवातर्फ आम जनताको लागि दैनिक जीवनमा आवश्यक तथा उपयोगी वस्तुहरु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउदै आएको छ । जसमा नून, चिनी, रासायनिक मल, कागज, दाल, चामल, तेल, मैदा, पिठो लगायतका वस्तु समावेश छन् । यी वस्तुहरु गुणस्तरीय हुनुका साथै सुपथ मूल्य र सहज आपूर्तिले गर्दा जनतामा लोकप्रिय भएका छन् । इतिहास तर्फ फर्केर हेर्दा आमजनताले पर्याप्त नून प्राप्त गर्न नसकिरहेको अवस्थामा तत्कालिन सरकारबाट प्रत्यक्ष सरकारी लगानीगरी निजी व्यापारीको समेत सहभागितामा सरल सुलभ नून आपूर्तिको लागि नै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्थापना भएको थियो । सरकार र निजी क्षेत्रको सामुहिक प्रयासमा साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना भएको थियो र स्थापनाको समयदेखिनै देशभरका उपभोक्तालाई गुणस्तरीय नून पर्याप्त मात्रामा सहज र सुपथ मूल्यमा उपलब्ध गराउदै आएको छ ।
करिब ६ महिना बाटो हिउँले बन्द हुने स्थानमा समेत कर्पोरेशनले नून पुऱ्याएको छ भने भविष्यमा नूनको कमि अनुभव गर्न नपरोस भनी ६ महिनालाई पुग्ने गरी नून भण्डारण गरिदै आएको छ । जनस्वास्थ्य प्रति विशेष ध्यान दिदै नेपाल सरकारले तोकेको मात्रामा आयोडिन मिश्रण गरी मानसिक एंव शारीरिक स्वास्थ्य संरक्षणमा योगदान पुऱ्याएको छ । केही समयदेखि सामाजिक सञ्जालमा आयोडिन बढी भएको आयोडिनयुक्त नून खान नहुने, ढिके नूनलाई पखालेर खाने, नूनलाई भुटेर खाने जस्ता अर्नगल प्रचारहरु भएको पाइन्छ । तर, नेपाल सरकारले यस विषयमा पटक पटक गरी अनर्गल प्रचारका पछाडि नलाग्न आग्रह गर्दै आईरहेको छ । त्यस कारण स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको हुँदा त्यस्ता भ्रामक एवं कपोलकल्पित हल्ला प्रति विश्वास नगर्न समेत आम उपभोक्तामा अनुरोध गर्दछौ ।
सुगमदेखि र्दुगम क्षेत्रका हरेक नेपालीको घरदैलोमा पुऱ्याउने सक्रियताले गर्दा सेवा विस्तार हुदै गएको छ । नून, चिनी जस्ता अति आवश्यक वस्तु जनस्तरमा पुऱ्याउने काममा कर्पोरेशन सक्रिय छ भने आफ्नो व्यवसायमा नेपाल सरकारबाट आवश्यक सहयोग प्राप्त भइरहेको छ । यसका लागि कर्पोरेशन नेपाल सरकार प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ र सरकारको जनताप्रतिको उत्तरदायित्व पूरा गर्ने काममा कर्पोरेशनले सहयोगी भूमिका निर्वाह गर्दै जाने विश्वास दिलाउँछु ।
कर्पोरेशनले आफूलाई दैनिक जीवनमा आवश्यक वस्तुको आपूर्तिमा मात्र सीमितमा नगरी कृषि, उद्मोग, निर्माण जस्ता क्षेत्रमा पनि सकरात्मक भूमिका खेल्दै आएको छ ।
नेपालको अर्थतन्त्रको बिकासमा कसरी योगदान पुऱ्याउन सकिन्छ भन्ने कुरामा हामी निरन्तर कृयाशिल रहेका छौ । नेपाल सरकारको Make in Nepal र Made in Nepal लाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उद्मोगबाट उत्पादित Induction एवं सोमा प्रयोग हुने Cookwear हरु समेत बिक्री वितरण गर्दै आएका छौ । कृषिक्षेत्रको विकासमा योगदान पुऱ्याउने उद्देश्यले अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैर अनुदानिक मल आयात गरी किसानलाई उपलब्ध गराइदै आएको छ । उत्पादन र बिक्री वितरणको क्षेत्रमा नून, चिनी, मैदा, पिठो, चामल, तेल, दाल, लगायतका अतिरिक्त खाना पकाउने ग्यास, प्रेसहरुका लागि कागज आदि वस्तु समेत बिक्री वितरण गरिदै आएको छ । देशमा आईपर्ने प्रकृतिक प्रकोप एंव विपत्तिको बेला कर्पोरेशनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा खेलेको भूमिका उल्लेखनीय रहेको छ । कर्पोरेशनले घर दैलो सम्म पुगी दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराएको सबैमा स्मरण गराउन चाहन्छु ।
समाजिक सेवाको क्षेत्रमा कर्पोरेशनले आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्दै आएको कुरा सर्वविदित छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको प्रगति र उन्नतिमा निरन्तर आफ्नो दूरदर्शितापूर्ण प्रयास र कुशल व्यवस्थापनद्वारा कीर्तिमानी योगदान पुयाउनु भएका आदरणीय पूर्व व्यवस्थापक स्वर्गीय श्री हेम बहादुर मल्लको सम्झनामा स्थापित हेम बहादुर मल्ल सम्मानको आफ्नै प्रकारको गरिमा रहिआएको छ भने विगतका सम्मानित व्यक्तित्वहरुको योगदान कीर्तिमानी उचाईमा रहेको छ । यही गरिमापूर्ण परम्परामा आज हेम बहादुर मल्ल सम्मान २०८० बाट सम्मानित हुनुहुने, पूर्व सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठले लामो समयसम्म बहुआयामिक एवं बहुपक्षीय प्रयासद्वारा न्याय सेवाको माध्यमले राष्ट्रको सेवामा पुऱ्याउनु भएको योगदान विशेष प्रशंसनीय रहेको छ । आफ्नो कर्मशील जीवन यात्रामा निर्वाह गर्नु भएको गरिमापूर्ण कामले उहाँ सर्व परिचित हुनुहुन्छ । यस्ता न्याय क्षेत्रमा उल्लेखनीय एवं उदाहरणीय योगदान पुऱ्याउने व्यक्तित्वमा हेम बहादुर मल्ल सम्मान अर्पण गर्न पाएकोमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन परिवार गौरवको अनुभूति गर्दै उच्च सम्मानका साथ हार्दिक बधाई ज्ञापन गर्दछु ।
योग्य व्यक्तिहरुको छनौट गरी समारोहको संयोजनको दायित्व लिएकोमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन परिवारको तर्फबाट नेपाल जनप्रशासन संघलाई धन्यबाद ज्ञापन गर्दछु । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेम बहादुर मल्ल सम्मानका अतिरिक्त बालबालिकाको क्षेत्रमा काम गर्ने ब्यक्ति वा संस्थालाई लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार, चिकित्सा क्षेत्रका विद्मार्थीलाई छात्रवृत्ति लगायत सामाजिक कार्यलाई निरन्तरता दिइदै आएको छ भने भविष्यमा यस्ता समाजिक उत्तरदायित्वमा अझ थप योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
अन्त्यमा, हेम बहादुर मल्ल सम्मान २०८० द्वारा सम्मानित हुनु भएका ब्यक्तित्व प्रति पुनः हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । विगतमा झैं भविष्यमा पनि साल्ट ट्रेडिङ्ग कर्पोरेशनको समृद्धिमा यहाँहरुवाट अझ बढी स्नेह, सदभाव र सहयोगको अपेक्षा गर्दै उपस्थित सबैमा आभार ज्ञापन गर्दछु । धन्यवाद ।
FACEBOOK COMMENTS