काठमाडौं । प्रदीप नेपाल नेता भन्दा पहिला एक आदर्श व्यक्ति, शिक्षक र लेखक थिए । उनीसँग बिताएका थोरै क्षणहरूले पनि जीवनमा ठूलो प्रभाव पारेका छन् ।
मैले उहाँबाट सिकेको सबैभन्दा ठूलो कुरा इमानदार र नैतिकताको परिभाषा हो । उनको बुझाइमा नैतिकता र इमानदारी फरक कुरा हुन् । उनी भन्थे, ‘नैतिक कुराहरु नमिल्न सक्छ त्यसैले नैतिकवान बन्न सकिएन भने पनि इमानदार रहन छाड्नु हुँदैन ।’
त्यसबेला म उमेरले सानो थिएँ । बुझ्न सक्ने क्षमतासँगै बुझ्न चाहने चेष्टा पनि कमजोर नै थियो । तर, समयसँगै केही अनुभवहरू यस्ता भए, जसले उनको भनाइलाई गहिरो अर्थमा आत्मसात् गराउन मद्दत गर्यो ।
उनी मन्त्री छँदा म बामपन्थी विचारधारालाई प्रवर्द्धन गर्ने ‘मिशन’ बोकेको प्रभावशाली पत्रिका दृष्टि साप्ताहिकमा कार्यरत थिएँ । एक दिन बिहान हस्याङ–फस्याङ गर्दै मन्त्री नेपाल दृष्टि साप्ताहिकको कार्यालयमा आए । त्यो बेला कार्यालयमा म र मेरो एकजना सहयोगी मात्र थियौँ ।
उनले सिधै मतिर फर्किएर भने, ‘उज्वल बाबु, मेरो लेखबापतको पैसा कति जति जम्मा भएको होला ?’
मैले झट्टै हिसाब जोडेँ र भनेँ, ‘अघिल्लो महिनाको हिसाबले करिब ६ हजार जति होला ।’
हिसाब सुनेपछि उनले मुस्कुराउँदै भने, ‘लौन, मेरो फोन ‘वान–वे’ भइसकेछ । तीन हजार जति त तिर्नै पर्यो ।
त्यति सुनेर म एकछिन अक्क न बक्क भएँ । मनमनै सोचेँ, यति ठूलो व्यक्तित्व निर्माण गरिसक्नुभएका नेताले जम्मा तीन हजार रुपैयाँका लागि आफैं पत्रिकाको कार्यालय आउनु पर्यो ? म त अचम्ममा परेँ ।
मैले भन्न त हवस् भनेँ, तर मसँग तत्काल तीन हजार रुपैयाँ थिएन । कार्यालयको हिसाबकिताब राख्ने साथी पनि थिएनन् । तै पनि मैले केही चिनजानका साथीहरूलाई फोन गरेर पैसाको जोहो गरेँ र उनको ‘वान–वे’ भएको फोनको बिल तिरिदिएँ ।
त्यस बेला अहिलेजस्तो अनलाइन पेमेन्ट लगायतको सुविधा थिएन । नेपाल टेलिकमको सुन्धारास्थित काउन्टरमै गएर पैसा तिर्न पथ्र्यो । मैले त्यहीँ गएर त्यो पैसा तिरिदिएँ ।
टेलिकमको काउन्टरमा सबै प्रक्रिया पूरा गर्न करिब दुई घण्टा लाग्यो । त्यो दुई घण्टा मेरा लागि दुई वर्षझैं लाग्यो किनकी त्यतिञ्जेलसम्म नेता नेपाल मसँगै रहेका थिए ।
पछि थाहा भयो, उनी आफूले मेहनत गरी कमाएकोबाहेक पैसा र सरसामानहरू उपभोग गर्दा रहेनछन् । न त कसैबाट लिने नै रहेछन् । त्यस्तो इमानदार व्यक्तित्वको जीवनशैली हेर्दा लाग्छ, सच्चा परिवर्तन भाषणले होइन, व्यवहारले सम्भव हुन्छ ।
आज पनि त्यो दिन सम्झँदा एकथरी भावनाले मन भरिन्छ । प्रदीप नेपालज्यूसँग बिताएको त्यो थोरै क्षण मेरो जीवनमा एउटा ठूलो पाठ बनेर बसिरहेको छ । उहाँको इमान, निष्ठा र नैतिकतालाई मैले पनि अनुशरण गर्ने प्रयत्न गरिरहेको छु ।
त्यसअघि र त्यसपछि पनि नेता नेपालसँग थुप्रैपटक मेरो भेट भएका थिए । ती सबै भेटहरू कुनै न कुनैरूपबाट मेरो जीवनका लागि यादगार छन् । तर, त्यो ‘एक दिन’ र ‘दुई घण्टा’ मेरा लागि अनौठो र अप्रत्याशित घटना बन्न पुग्यो । जसले मलाई पनि धेरै कुरा सिकायो ।
अझ उनले आफ्नो मृत्युपछि आफ्नो मृतात्मालाई कसैले पनि श्रद्धाञ्जली नदिन र पार्टीको झण्डा समेत नओढाउन इच्छा व्यक्त भएबाट मेरो मनमा उनीप्रतिको सम्मान अझ बढेको छ ।
FACEBOOK COMMENTS