काठमाडौं । ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रतिष्ठित व्यक्तित्वहरूको योगदान र कृतिहरू सबैका लागि रुचीका विषय हुने बताएका छन् ।
प्रतिष्ठानद्वारा लिखित पुस्तक ‘राजेशकाजीको जीवनी : व्यक्तित्व र योगदान’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिष्ठित व्यक्तिहरूको योगदान, जीवनी र कृतिहरू सबैका लागि रुचीको विषय हुने बताएका हुन् ।
‘प्रतिष्ठानले व्यावसायिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वहरूको योगदानबारे कृतिहरू प्रकाशन गर्ने कार्य गर्दै आएको छ,’ समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले भने, ‘उहाँहरूका योगदानहरू सबैका लागि रुचिका विषय हुनसक्ने भएकाले त्यसको अभिलेखीकरण हुनुपर्दछ भन्ने मान्यताका साथ यसपटक राजेशकाजी श्रेष्ठको योगदानबारे पुस्तक प्रकाशन गरेका हौँ ।’
उनले राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदानबारे पुस्तकमा लिपिबद्ध गर्न भरपुर मेहनत गर्ने लेखक बद्री प्रसाद कोइरा र सो कार्यमा संलग्न सबैप्रति धन्यवाद ज्ञापन गरे । प्रतिष्ठानले मुलुकको व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष महेश कुमार अग्रवाल र नेपालको चेम्बर आन्दोलनमा महिलाहरूको सहभागिता, महिला उद्यमशीलताको विकास र सशक्तिकरणलगायतमा लामो समयदेखि उल्लेखनीय योगदान गरेकी राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यलाई सम्मान गरेको उनले बताए ।
उनले प्रतिष्ठानको कार्यक्रमलाई समय उपलब्ध गराएकामा प्रधानमन्त्री केपी शर्मा ओली र गरिमामय उपस्थिति जनाउने सबैप्रति आभार व्यक्त गरे । उनका अनुसार ईश्वरलाल प्रतिष्ठान एक गैरसरकारी सामाजिक सेवामूलक संस्थाहो । स्वर्गीय ईश्वरलाल श्रेष्ठको आदर्श र योगदानलाई जीवन्त राख्न प्रतिष्ठान स्थापना गरिएको उनले बताए ।
को हुन् ईश्वरलाल ?
उहाँ एक ‘सेल्फ मेड म्यान’ थिए । प्राज्ञिक पारिवारिक विरासतभन्दा नितान्त फरक किसिमले व्यापार व्यवसायमा प्रवेश गरेका थिए । वास्तवमा उनको रुची सामाजिक सेवा क्षेत्रमा थियो । त्यसैले उनले जीविकोपार्जनको माध्यमका रूपमा मात्रै व्यापार व्यवसाय सञ्चालन गर्दै सामाजिक सेवालाई निरन्तरता दिएका थिए ।
एकैसाथ दुई फरक प्रकृतिका क्षेत्रमा सफल बनेर एक आदर्श र मानक उनले स्थापित गराएका छन् । नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न प्रतिष्ठित संस्थाहरूको नेतृत्व सम्हाल्दै उनले परिवारभित्रको मात्र होइन आफू संलग्न सम्पूर्ण संस्थाहरूमा आदर्श अभिभावकको भूमिका निर्वाह गरेका थिए ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS