—एलिसा ढुङ्गाना
भदौ ३०, काठमाडौँ । राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा ‘प्रज्ञा बालकविता महोत्सव’ सम्पन्न भएको छ । करिब ३५ जना बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्य ज्ञापन गर्दै भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव’ सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्र्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रिय बालदिवसको अवसरमा बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको उल्लेख गर्नुभयो । बालबालिकाहरू नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको भन्दै उहाँले यस्ता कार्यक्रमले उनीहरूको प्रतिभालाई प्रस्फुटित गराउने बताउनुभयो । बालबालिकाको समूहले भोलि देश निर्माण गर्ने भएकोले त्यसका लागि हामीले आधार तयार गरिदिनु पर्ने र यसका लागि प्रज्ञा–प्रतिष्ठानको अभिभावकीय जिम्मेवारी महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जोसँग सपना छ, कल्पना शक्ति छ र नयाँ ढङ्गले हिँड्ने चाहना छ उनीहरूलाई साथ र सहयोग चाहिन्छ । यसमा हामी सधैँ साथमा छौँ ।”भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उहाँले प्रदेश स्तरमा पनि बालसाहित्यको प्रवद्र्धनका निमित्त पहल गरिरहेको जानकारी गराउनुभयो । उहाँले बालसाहित्य विभाग बनेपछि धेरै काम गर्न सकिएको बताउनुभयो । बालप्रज्ञा पत्रिका नियमित प्रकाशित भएको उल्लेख गर्दै बालसाहित्यको क्षेत्रमा अन्य कार्यहरू क्रमशः हुँदै जाने र बालकविता महोत्सवले निरन्तरता पाउने उहाँले बताउनुभयो
उपकुलपति डा. जगमान गुरुङले महोत्सवमा सहभागी बालबालिकाहरू अनेकन ताराबिचका २७ नक्षत्रजस्तै नक्षत्र भएको बताउनुभयो । उहाँले जयस्थिति मल्लले आफ्नो पालामा आफ्ना सन्तानलाई पढाउन संस्कृत भाषामा ‘बालविनोदिनी’ नामक पुस्तक लेखाएको उल्लेख गर्दै बालसाहित्यको इतिहास त्यहाँबाट सुरु भएको उल्लेख गर्नुभयो । त्योभन्दा अघिका समय अध्ययनको विषय भएको भन्दै उहाँले नेपाल बालसाहित्यको आदिभूमि भएको उल्लेख गर्नुभयो । विश्वमा बालसाहित्यको नाम पनि नसुनिएको अवस्थामा नेपालमा बालसाहित्यले विकसित रुप लिइसकेको उहाँले बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले वि.सं. २०२२ सालदेखि भदौ ४ गतेलाई बालदिवसको रुपमा मनाउने गरिएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासन्धिमा हस्ताक्षर गरेको आधारमा २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि नेपालमा भदौ २९ गतेलाई बालदिवसको रुपमा मनाउन थालिएको उल्लेख गर्नुभयो । नेपालको संविधान २०७२ मा बालबालिकाको हकअधिकारसम्बन्धि व्यवस्था गरेको उल्लेख गर्दै सदस्य सचिव प्रा. उपाध्यायले बालदिवसलाई अवसर बनाएर नेपाली भाषामा बालकविता लेख्ने कविहरूलाई सहभागी गराएर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बालबालिकाको उन्नयनका लागि भनेरै प्रज्ञा–प्रतिष्ठानमा बालसाहित्य विभाग गठन गरिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले वि.सं. १९४९ मा पहिलो पटक बालपुस्तक वा बालपाठ्य सामग्री प्रकाशित भएको उल्लेख गर्दै नेपाली साहित्यकारहरूले बालसाहित्यमा दिएको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
बालसाहित्य लेख्दा बालअपमान, बालमनोविज्ञान र बाल संवेदनशीलतामा आघात पर्ने शब्द, वाक्य तथा विषयवस्तु समावेश हुने गरेकोले भन्दै त्यो अन्त्य हुनुपर्ने उहाँको धारणा थियो । बालसाहित्य बालबालिकाका लागि पुष्टकारी हुनुपर्ने र बालबालिकाको मनोविज्ञान दह्रो बनाउन सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । बालबालिकालाई दण्ड, जरिवाना वा डर, धक्कीका आधारमा नभई स्वतन्त्र र खेलको माध्यमबाट अध्यापन गराउनु पर्ने उहाँले बताउनुभयो । बालसाहित्य लेखनमा पनि बालमनोविज्ञानलाई आधार मानेर रचनाहरु लेखिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रज्ञा बालकविता महोत्सवको औचित्यमाथि प्रकाश पार्दै साहित्य (कविता÷काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानूनले नै तोकेको र त्यो संख्या ४० प्रतिशत रहेको उहाँले उल्लेख गर्नुभयो । सो समूहलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम औचित्यपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।
बालबालिका काँचो माटो भएकोले त्यसलाई कुन रुपमा विकास गर्ने भन्ने कुरामा अभिभावक जिम्मेवार रहनु पर्ने उहाँले बताउनु भयो । बालबालिकालाई विचारवान र सशक्त बनाउन बालसाहित्यको भूमिका अहम् हुने उहाँको भनाई थियो । हिजोको पुस्ताले भोगेको बाल्यकाल र अहिलेको बाल्यकालमा फरक भएको भन्दै उहाँले आजका बालबालिकाको चेतनाको स्तर अब्बल र फरक रहेको बताउनुभयो । बालबालिकाको सोचाइ, चिन्तन र मस्तिस्कलाई विचार गरेर अभिभावकले व्यवहार गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालबालिकाकलाई अनुशासित बनाउन, आशावादी बन्न सिकाउनु, उत्तरदायी बन्न सिकाउनु हाम्रो जिम्मेवारी भएको उहाँको भनाइ थियो ।
महोत्सवका संयोजक साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले बालसाहित्यको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । देशभरिबाट ४० जना बालबालिका छनोट गरिएको र जसमध्ये ३५ जना जोडिएर कविता प्रस्तुत गरेको उहाँले जानकारी दिनु भयो । सहभागी बालप्रतिभाहरुलाई प्रज्ञा–प्रतिष्ठानले प्रमाणपत्र उपलब्ध गराउने र बालप्रज्ञाको आगामी अङ्कमा वाचित कविताहरू प्रकाशन गर्ने पनि उहाँले जानकारी दिनुभयो । उहाँले लोकवार्ता विभागअन्तर्गत लोकसाहित्य सिद्धान्त, प्रज्ञा लोककथा, गोर्खाली युद्धबन्दीका लोककथा र भाका भियनाबाट खोजेर ल्याएर प्रकाशन गरेको, लोकरामायण प्रकाशनको चरण, पूर्वेली लोकसंगीत प्रकाशनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।यसै गरी बालसाहित्य विभागअन्तर्गत बालकविता, बालगजल, बालनियात्रा, बालसमालोचनलगायतका पुस्तकहरु प्रकाशित भइरहेको उहाँले बताउनुभयो । मातृभाषाका बालकविताहरुको प्रकाशनको योजना र बालसाहित्यको इतिहास सातै प्रदेश र विश्वभरबाट खोजी गरि लेखनको कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
आगामी वर्षहरुमा पनि प्रज्ञा बालकविता महोत्सवलाई निरन्तरता दिने उहाँले बताउनुभयो । दुई दिने बालसाहित्य महोत्सव गर्ने योजना रहे पनि यो वर्ष कोभिड–१९ को महामारीका कारण सम्भव नभएको उहाँले बताउनुभयो । सम्भव भए अर्को वर्ष सो कार्यक्रम आयोजना गर्ने उहाँले बताउनु भयो । विदेशमा रहने बालबालिकाहरु मध्यरातमा उठेर, कक्षा कोठाबाटै जोडिएर, अनलाइन कक्षालाई एकछिन थाँती राखेर भए पनि महोत्सवमा कविता वाचन गरेको भन्दै सम्पूर्ण बालबालिकालाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नु भयो, “यो इतिहास निर्माणको कार्य भएकोले ज–जसले जुन ठाउँबाट सहयोग गर्नुभयो उहाँहरुलाई धन्यवाद ।”
नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै सबैलाई बालदिवसको शुभकामना दिनुभयो । बालबालिकाको क्षेत्रमा कार्यरत अभियन्ताको रुपमा आफू लागिपरेको उल्लेख गर्दै साहित्यको माध्यमबाट मानिसको चेतनामा परिवर्तन आउने उहाँले बताउनुभयो । भाषा र साहित्य मूल जरो भएको भन्दै अहिले भाषा र साहित्यको खुट्टा भाँचिएको उहाँले बताउनु भयो । जसले गर्दा भाषा लेखनमा अशुद्धि तथा साहित्यमा गुणस्तर नभएको उल्लेख गर्नुभयो । नेपालले ५७ औँ बालदिवस मनाउने गरे पनि २०१९ सालमा प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित पत्रिकामा तत्कालीन श्री ५ महेन्द्रबाट बालदिवसको शुभकामना दिएको पाएको उहाँले बताउनुभयो । यसले पनि बालदिवसको स्थापना दिवस पुनरावलोकन गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा ४१.७ प्रतिशत बालबालिका रहेको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा धेरै कार्य गर्नुपर्ने अवाश्यकता रहेको उहाँको भनाइ थियो । जसका लागि प्रज्ञाले सुरु गरेको महोत्सव कोशेढुङ्गा भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा बालसाहित्यको इतिहास, नेपाली भाषामा बालसाहित्य, लोकसाहित्य, लिखित बालसाहित्य, नेपाली बालसाहित्यको विधागत स्थिति, बालसाहित्य कृतिमा गुणवत्ताको प्रश्न, उमेरअनुसारका रचना, बालसाहित्य सम्पादन, चित्राङ्कन, लेआउट, डिजाइन, मुद्रण प्रविधि जस्ता कुरामा पनि विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमको दोस्रो खण्ड अर्थात् बालकविता वाचन कार्यक्रमको आरम्भमा झापाबाट बालिका गरिमा न्यौपानेले ‘शब्दहरू’ शीर्षकको कविता सुनाउनुभएको थियो । त्यसपछि बेलायतबाट बालिका अंशु केसीले ‘मानव जीवन’ शीर्षकको कविता वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा मकवानपुरबाट कवि समर्पण न्यौपानेले ‘बालश्रम’ शीर्षकको कविता, बंगलादेशबाट कवि अपिल पौडेलले ‘नेपाल स्वर्ग हो’ शीर्षकको कविता, झापाबाट कवि अलका खतिवडाले ‘अठोट’ शीर्षकको कविता, अमेरिकाबाट कवि रोजी गौतमले ‘आमा’ शीर्षकको कविता सुनाउनुभएको थियो ।
यसै गरी तनहुँबाट आयुष्मा ढकालले ‘माहुरी र झिंगा’, नवलपरासीबाट आयुष्मा तिवारीले ‘मेरो देश’, सुनसरीबाट विभूति काफ्लेले ‘मोबाइल’, भक्तपुरबाट चक्षु भट्टराईले ‘छन्द’, जापानबाट प्रविना बरालले ‘मातृवन्दना’, कास्कीबाट आर्या त्रिपाठीले ‘बुद्ध र मेरो देश’, काठमाडौँबाट अनुश्री आचार्यले ‘आदर्श हुन् गुरु’, भारतको कालिम्पोङबाट विपना कार्कीले ‘फरक’, कपिलवस्तुबाट जोशिका कँडेल ‘निशा’ले ‘नेपाल मेरो घर’, बर्माबाट दिव्यलक्ष्मी खनालले ‘हाम्रो समाज’, स्याङ्जाबाट अस्मित भुसालले ‘निर्धन कर्णधार’, भारतको मणिपुरबाट जानवी थापाले ‘भ्यागुता’, रुपन्देहीबाट प्रिन्सु पौडेलले ‘मेरो देश’, बाराबाट कवि साहिल जयसवालले ‘आत्मप्रश्न’, युएई, अबुधावीबाट करुणा घिमिरेले ‘नफक्रेको फूल’, रोल्पाबाट अर्चितबाबु मर्सिफूलले ‘शिक्षा’, कैलालीबाट विभूति अधिकारीले ‘म बालक’, मकवानपुरबाट प्रतीक कर्णले ‘बालअधिकार’, बर्दियाबाट प्राश्ना सुवेदीले ‘समय यात्रा’, पोर्चुगलबाट मानस्वी खरालले ‘आमा’, मोरङबाट सौराग्य अधिकारीले ‘नारी’, दैलेखबाट मुना थापा मगरले ‘म, कविता अनि कवि सपना’, दार्चुलाबाट सङ्गीता पार्कीले ‘मेरो देश’, नुवाकोटबाट पुष्कल किरणले ‘हिमाल’, नुवाकोटबाटै सुविन रिमालले ‘आमालाई पत्र’, सुर्खेतबाट स्वस्तिका केसीले ‘आत्मप्रेम’, बर्दियाबाट अजय विश्वकर्माले ‘सडकमा बालदिवस’, कपिलवस्तुबाट शिरीष बन्जाडेले ‘पैसाबिना के छ र ?’ काठमाडौँबाट आँचल अधिकारीले ‘म पन्छी’ शीर्षकको कविता वाचन गरेर सुनाउनुभएको थियो ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी मालीका साथै प्राज्ञ सभाका सदस्यहरू, आजीवन सदस्यहरू, मानार्थ प्राज्ञ सदस्यहरू, प्राज्ञ परिषद्का पूर्वपदाधिकारीहरूलगायतको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा बालसाहित्य स्रष्टा एवम् बालसाहित्य समाजका पूर्वअध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, बालसाहित्य स्रष्टा शान्ता दाहाल लगायतको उपस्थिति रहेको थियो ।
प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका प्रतिवेदक आजको खबर डटकमका सम्पादक डिल्लीरमण सुवेदी हुनुहुन्थ्यो ।
FACEBOOK COMMENTS