काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धिहरु हासिल भएको निश्कर्ष निकालेको छ ।
समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु संप्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारहरुबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले विकास साझेदारहरुबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिहरुलाई ग्रहणसमेत गरेको छ ।
कार्यक्रममा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले मन्तव्य राख्दै भूकम्पपछिको सफल पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्राधिकरणलाई बधाई दिए । काउचोइसले नेपालको उत्थानशीलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका कामहरु सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढंगले हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको सहयोग निरन्तर रहने बताउँदै देशैभरिका विद्यालयहरुको संरचनात्मक सामथ्र्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गरेको जानकारी दिए ।
जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनर्निर्माणमा मात्र नभएर आगामी दिनमा आउनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न तयार रहेको जानकारी दिए ।
समितिका अध्यक्ष एवं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा मित्र राष्ट्रहरु एवं विकास साझेदारहरुबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरे ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा विकास साझेदार संस्थाहरुको संलग्नता र सहकार्यको ढाँचाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा उच्चस्तरको सहभागिताका लागि आग्रह गरे ।
पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभवहरु अन्तर्राष्ट्रिय समुदायसामु बाँड्ने उद्देश्यले यही मंसिर २१–२३ मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणका लागि भैरहेको विपद् उत्थानशील ढाँचाको तयारीबारे बैठकलाई जानकारी दिए ।
FACEBOOK COMMENTS