काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाश चन्द्र लोहनीले अहिले नेपालमा रावण प्रवृत्तिले जनतामाथि शासन गरिरहेको बताएका छन् ।
काठमाडौंको बल्खुमा भइरहेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले रावण प्रवृत्तिको शासनबाट देशलाई मुक्त गरी मनोवैज्ञानिक सुरक्षाका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताए ।
उनले भने–
नेपालमा अहिले रावणहरूको शासन भइरहेको छ । रावण भनेको अहङ्कार हो । अरुको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधारणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले जे गरे पनि हुन्छ त्यही ठिक हो भन्ने मनोविज्ञान वा अहङ्कार रावण प्रवृत्ति हो । जनताको मत र बल लिएका राजनितिज्ञहरू छन्, जसलाई हाम्रो काम गर भनेर जनताले पठाएका हुन् । उनीहरूको प्रवृत्ति रावण प्रवृत्ति भएर गएको छ । यो राज्यको ढुकुटी हामीले जे गरे पनि हुन्छ, यसमा अरु कसैले बोलने हो भने त्यो हाम्रो विरोधी हो, त्यसलाई हामीले सिध्याउनुपर्छ । यो रावण प्रवृत्ति यसरी बढेको छ कि जहाँतहीँ घुसेको छ । यो प्रवृत्तिले देशलाई कमजोर बनाउँछ । नेपालको आत्मविश्वासमा प्रहार गर्छ । इज्जत र प्रतिष्ठामा धक्का लाग्छ । नेपालको छविलाई धुमिल पार्छ ।
जसले नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षा देओस्, एकतामा ल्याओस्, संवैधानिक राजसंस्थाले मात्रै त्यो काम गर्न सक्छ । त्यसैले राजसंस्था आवश्यक छ । त्यसको उपयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राप्रपाको हो ।
FACEBOOK COMMENTS