ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्त्व रहेको बताएका छन् ।
श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले आज ललितपुरको गाबहालमा आयोजना गरेको श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले पुर्खाले दिएका असल अभ्यास, संस्कार र सभ्यता पुस्तकको माध्यमबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘पुस्तक प्रकाशनमा प्रत्यक्ष र परोक्ष रूपमा योगदान पुर्याउनेहरूलाई धन्यवाद भन्न चाहान्छु । धर्म, संस्कृति जोगाउन यहाँहरूको निरन्तर प्रयास रहने विश्वास छ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले आउँदै गरेको नयाँ वर्ष २०८२ ले सबै नेपालीजनमा आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले राम्रो प्रभाव पार्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
श्रीनृसिंह महात्म्य पुस्तक एवं स्मारिका प्रकाशन समितिका प्रधानसम्पादक प्रमोद शर्माले धार्मिक स्तोस्त्र र नृसिंहजात्राका विषयमा जानकारी दिने उद्देश्यले दस्तावेज तयार गरिएको बताए ।
FACEBOOK COMMENTS