काठमाडौँ । ‘मान्छे आफूले जानेको विषयमा बोल्यो भने गुरु हुन्छ तर जे पायो त्यही विषयमा जान्ने भयो भने गोरु हुन्छ’ । ‘कति खुट्टा मालिस गरेको यार ?’ । ‘पक्का झोले भएछ, अब गीत गाउन छोडेर झोला बोक्दा हुन्छ’ । ‘यस्तै घटिया कलाकारहरूकै कारण देश बर्बाद हुँदैछ, यिनै फटाहाहरू भ्रष्ट नेता जन्माउँछन्’ । ‘केटोले समानुपातिक टिकट पक्का गरेछ’ । ‘फिलिमले चिलिम खाने भो ब्रोको’ । ‘तेरो क्रेज अब घट्यो केटा, ढुक्क हो’ । ‘अब केटोले बाँचुन्जेल पेटभरि गाली खाने भयो’ । ‘फिल्म बहिष्कार गरौँ’ । ‘अरूले तपाइँ भनोस् नभनोस् आफैँ मपाइँ’ ।
यी टिप्पणी देशका एक जना नाम चलेका कलाकारलाई सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरूले गरेका हुन् । र, यस्तो गाली खाइरहेका ती कलाकार हुन्- प्रकाश सपुत ।
प्रकाश सपुत नेपाली सङ्गीत उद्योगमा चिरपरिचित नाम हो । व्यावसायिक हिसाबले उनी एक सफल गायक हुन् । साथै उनी अभिनेता र मोडल पनि हुन् । उनले अभिनय गरेका ‘परदेशी २’ र ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली चलचित्र बजारमा राम्रो व्यापार गर्न सफल चलचित्र हुन् । अझ ‘पूर्णबहादुरको सारङ्गी’ त थुप्रै कीर्तिमान बनाएको चलचित्र हो ।
त्यस्तै, उनीद्वारा निर्मित र अभिनीत म्युजिक भिडिओ पनि राम्रै चर्चाको केन्द्रमा रहने गरेका छन् । उनको परिचय अब गायक, सङ्गीतकार, गीत रचनाकार, अभिनेता र मोडलमा मात्र सीमित रहेन, उनी चलचित्र निर्देशक पनि भइसके । उनैको कथा, सङ्गीत र निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ आगामी चैतेदसैँ (चैत २२) मा प्रदर्शन हुने तय छ ।
तर, यतिका धेरै परिचय बनाएका र सधैँ नेपाली श्रोता तथा दर्शकको नजरमा रहने सपुत एक यस्ता कलाकार हुन् जो बेलाबेला विवादमा परिरहन्छन् । र, यो शृङ्खलाले फेरि एकपल्ट निरन्तरता पाएको छ ।
विगतमा उनका गीतमा प्रयोग भएका शब्द, सङ्गीत तथा म्युजिक भिडिओमा रहेका दृश्य र संवादलाई लिएर उनी विवादमा परेको धेरैलाई जानकारी छँदैछ । यस्तै, विवादका कारण युट्युबमा रिलिज भएर लाखौँ भ्युज पाइसकेको उनको म्युजिक भिडिओ हटाएर सम्पादन गरी पुनः अपलोड गरिएको घटना पनि थुप्रैलाई सम्झना छ ।
तर, यसपल्ट उनी विवादमा पर्नुको कारण भने फरक छ । साथै यो विवादपछि उनी धेरैको निशानामा परेका छन् र यसले उनको करिअरमै धक्का लाग्न सक्ने जोखिम पनि बढाएको छ । फेसबुक प्रयोगकर्ता उनीमाथि चर्को आलोचनासहित खनिनु र उनलाई त्यही किसिमको चेतावनी दिनुले यस्तो हुन सक्ने सम्भावनाको सङ्केत गर्दछ ।
यो विवाद एक पुस्तक विमोचनको कार्यक्रममा उनले गरेको सम्बोधनले सिर्जना गरेको हो । फागुन १९ गते प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवनमा आधारित पुस्तक ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ विमोचनको कार्यक्रम थियो । काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको पुस्तक विमोचनको कार्यक्रममा प्रकाश सपुत पनि वक्ता थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको व्यक्तित्वको मुक्तकण्ठले प्रशंसा गरे । उनले प्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिक क्षेत्रको एक अद्भुत, उदाहरणीय र अत्यन्त प्रेरणादायी व्यक्तित्वको सङ्ज्ञा दिए । ओलीको सङ्घर्ष, प्रगति र उनले देशमा गरेको परिवर्तनले आफू चकित हुने गरेको उनको भनाइ थियो । ओलीको राजनीतिक जीवनलाई छुट्टै कित्तामा राखेर उनको व्यक्तिगत जीवनलाई मात्र नियाल्ने हो भने पनि जीवनमा असम्भव केही नहुने सन्देश मिल्ने सपुतले बताए ।
पुस्तकका लेखक गणेश पाण्डेले आफूलाई कार्यक्रमको वक्ताका रूपमा आफ्नो नामसहितको सूची पठाउँदा सुरुमा आफू सहभागी हुँदिनँ होला भन्ने जवाफ दिएको उनले बताए । ओलीजस्ता अद्भुत व्यक्तिको बारेमा लेखिएको पुस्तकबारे विचार राख्ने आफ्नो क्षमता नरहेको ठानेर आफू कार्यक्रमको वक्ता बन्न उचित नहुने लागेको पनि उनले सुनाए ।
तर, एउटै मञ्चमा नेपालका तीन बहुप्रतिभाशाली व्यक्तिहरूको भेट हुने मौका जुरेकाले आफू कार्यक्रममा सहभागी भएको उनले बताए । उनको विचारमा ती तीन जना बहुप्रतिभाशाली व्यक्तिहरू थिए- पहिलो त उनी आफैँ, त्यसपछि प्रधानमन्त्री ओली र लेखक गणेश पाण्डे । र, उनले आफूहरू तीन जनाको नाममा ताली पिट्न पनि दर्शकदीर्घालाई अनुरोध गरे ।
यो घटनाक्रमपछि सामाजिक सञ्जालमा प्रकाश सपुत आलोचनाको सिकार भएका छन् । उनलाई गर्नुसम्म गाली गरिएको छ । आफ्नै बोलीले उनलाई अफ्ठेरोमा पारेको छ । यति भइरहँदा प्रश्न उठ्छ- के व्यक्तिले आफ्नो विचार स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न नपाउने हो ? त्यस्तो पक्कै होइन । हरेकलाई अभिव्यक्तिको स्वतन्त्रता छ । साथै कसैले कसैको विचार मन नपर्दैमा टाउको दुखाउनु पनि आवश्यक होइन । तर, यसो भन्दैमा प्रकाश सपुतविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो जमात उनीमाथि त्यसै खनिएको होइन भन्ने पनि बुझ्न जरुरी छ ।
निष्कर्षमा, कलाकारहरू राष्ट्रका गहना हुन् । उनीहरू ‘पब्लिक फिगर’ भएकाले सधैँ अरूको चासो र नजरमा रहन्छन् । त्यसैले कलाकारहरूले धेरै कुरामा सचेत हुनुपर्छ । बोली र व्यवहारमा भाँती नपुर्याए त्यो उनीहरू आफैँलाई महँगो परिदिन्छ । र, प्रकाश सपुतले यसैको परिणति भोग्नुपरेको हो ।
FACEBOOK COMMENTS