काठमाडाैं । इतिहासकै खराब अवस्थामा पुगेको अर्थतन्त्र उकास्ने जिम्मेवारी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाएका छन् ।
गठबन्धन दल कांग्रेसका तर्फबाट महत अर्थमन्त्री बनेका हुन् । उनी पहिलो पटक अर्थमन्त्री बन्न लागेका हुन् । खराब अर्थतन्त्र सुधार गर्ने जिम्मा प्रकाशशरण महतले जिम्मेवारी पाएका हुन् ।
नेपालको अर्थतन्त्र अहिले खराब अवस्थामा छ । देशमा लगानीयोग्य पूँजीको अभाव र बैंकहरुले प्रवाह गर्ने ऋणमा कमी देखिएको छ । लघुवित्तबाट ऋण लिएकाहरु तिर्न नसक्ने भनिरहेका छन् । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । उद्योगी व्यवसायीले पनि वस्तुको ७० प्रतिशतसम्म माग घटेको बताइरहेका छन् ।
यसअघि महत परराष्ट्र र ऊर्जामन्त्री बनेका थिए । देश उत्पादनमुखी भन्दा पनि आयातमुखी भएकाले अर्थिक अवस्था बिग्रिँदै गएको छ । व्यापार घाटा १७ प्रतिशतभन्दा बढी छ ।
को हुन् महत ?
अर्थतन्त्र संकटमा रहेको बेला महत अर्थमन्त्री नियुक्त भएका हुन् । प्रतिनिधि सभाका सदस्य महत कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।
महतले ०३६ सालको विद्यार्थी आन्दोलन र ०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका थिए । उनी ०४२ सालको सत्याग्रहमा सक्रिय भूमिकामा लागेका थिए । त्यतिबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । ०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका महत ०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका छन् ।
उनले गत ०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र ०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथाप्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका रहेर काम गरेका थिए ।
०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा सुरु गरेका महतले पहिलो संविधानसभा ०६४ देखि ०६९ र दोस्रो संविधानसभा ०७० देखि ०७४ सम्म संविधान सभा सदस्यको रुपमा काम गरेका थिए ।
नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी सम्हालेका गरेका महतलाई प्रधानमन्त्रीले ०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए ।
उनलाई सरकारले २०५८ चैत्रदेखि ०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । उनले ०६१ जेठदेखि ०६१ माघ १९ सम्म परराष्ट्र राज्य मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी दिइएको थियो ।
२०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) उनी उर्जा मन्त्री भए । नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन् भने उनले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका महतले ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड’ नामको किताब पनि लेखेका छन् ।
FACEBOOK COMMENTS