काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा कानुन विपरीत काम गर्ने जोकेहीलाई पनि कारबाही गर्नुपर्ने पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले युवा पुस्ताका जायज मागलाई सम्बोधन गर्दै पुराना राजनीतिक दल र राज्य संयन्त्रले आफ्ना कमी–कमजोरी स्वीकार गरी सुधार गर्नुपर्ने बताएका छन् ।
महतले पछिल्ला आन्दोलनहरूमा सरकारी संयन्त्रको असफलता र आन्दोलनकारी दुवै पक्ष जिम्मेवार रहेको बताए । “सरकारी मेसिनरीले स्थिति ठीक ढंगले ह्यान्डल गर्न सकेन, तर आन्दोलन गर्नेहरू पनि अधिशासनभित्र बस्न सकेनन्,” उनले भने । बंगलादेश र श्रीलंकाका उदाहरण उल्लेख गर्दै महतले आन्दोलनका क्रममा तोडफोड र आगजनी भए पनि नेपालमा भने अवस्था झन् जटिल बनेको बताए ।
“आज बेरोजगारी मात्र समस्या होइन,” महतले भने, “रोजगारी भएर पनि त्यसबाट प्राप्त हुने आम्दानी र जीवनस्तरले सन्तुष्टि नदिएको समस्या हो।” उनका अनुसार यही कारण धेरै युवा विदेश पलायन भइरहेका छन्, जसले देशभित्र लगानी र रोजगारी सिर्जनामा नकारात्मक असर पारेको छ । भदौ २३ र २४ गतेका घटनालाई “ग्लोरिफाइ” गर्न नहुने चेतावनी दिँदै महतले भने, “यदि असन्तुष्टिको नाममा जे गरे पनि हुन्छ भन्ने सन्देश गयो भने भोलि कसैले पनि आफू सुरक्षित महसुस गर्दैन।
” उनले कानुन उल्लङ्घन गर्ने जो कोहीलाई-सरकार, आन्दोलनकारी वा कुनै समूह—कानुनी दायरामा ल्याउनुपर्ने स्पष्ट पारे । आगामी फागुन २१ गते प्रस्तावित निर्वाचनको सन्दर्भमा उनले भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरे। नयाँ जनादेशसहित संसद बनेपछि संविधान संशोधन र शासन प्रणालीका कमजोरीहरूको गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए ।

FACEBOOK COMMENTS