काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘कम्प्लिट’ र ‘एक्स्ट्रा अर्डिनरी जुडिसियाल पर्सनालिटी’ भएको बताएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनका संस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गर्दै उनले सो कुरा बताएका हुन् । कल्याण श्रेष्ठजस्तो टावरिङ पर्सनालिटीलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य भएको समेत उनले बताएका छन् ।
‘सिङ्गो न्यायिक इतिहासलाई प्रतिबिम्बित गर्ने सामर्थ्य उहाँ राख्नुहुन्छ । ‘कम्प्लिट’ र ‘एक्स्ट्रा अर्डिनरी जुडिसियाल पर्सनालिटी’ हो । उहाँ टावरिङ जजको रुपमा अन्तर्राष्ट्रियरूपमा ख्यातीप्राप्त व्यक्तित्व हुनुहुन्छ र उहाँले त्यो पुरस्कार पनि पाइसक्नुभएको छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘त्यस्तो टावरिङ पर्सनाटीलाई सम्मान गर्न पाउनु सुखद संयोग र सुयोग मात्र होइन सौभाग्य पनि हो ।’
विधिको शासन, न्यायिक अक्षुणता, स्वतन्त्र न्यायपालिका र मानव अधिकारका लागि उनले दिएको अथाहा योगदान न्यायिक जगतको पम्पत्ति र सम्पदाको रुपमा रहेको चर्चा गर्दै उनले कल्याण श्रेष्ठले सम्प्रेषण गर्ने विचार तथा वाणीमा कुशाग्रता र विलक्षणता अदभूत र अद्वितीय रहेको बताए ।
भूपी शेरचनको कविता ‘एक युगमा एक दिन एक पटक आउँछ’ उद्धृत गर्दै उनले भने, ‘मैले कल्याण श्रीमानलाई प्रत्यक्ष चिनेको ४२ वर्ष भयो । दिव्य १२ वर्षको एक युग हुन्छ क्यारे, आज ४२ वर्षमा यो सुनौलो सुयोगको संयोग मिलेको छ । सम्मान भनेको सत्पात्रलाई नै प्रदान गर्नुपर्छ, सुसंस्कृत समाजले पनि सत्पात्रलाई नै सम्मान गर्छ । सत्पात्रलाई सम्मान गर्दा सम्मानको ओज र महिमा अपार हुन पुग्दछ । र, सम्मानित हुनेलाई पनि अन्तस्करणबाटै आनन्दित तुल्याउँछ । आजको सत्पात्र कल्याण श्रीमान् ।’
साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रहेर सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिएको प्रेरणादायी योगदानको कदर गर्दै कर्पोरेशनका संस्थापक कार्यकारी प्रमुख तथा तत्कालीन अध्यक्ष हेमबहादुर मल्लको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा ‘हेमबहादुर मल्ल सम्मान’ वि. सं. २०५७ सालमा स्थापना गरिएको हो । यो वर्षको उक्त सम्मान आज होटेल सोल्टीमा भव्य समारोह आयोजना गरी नेपाल जन प्रशासन संघले पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गरेको हो ।
सार्वजनिक प्रशासन, व्यवस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने एक जना व्यक्ति वा एउटा संस्थालाई हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए । उनका अनुसार यसअघि यो सम्मानबाट २० जनालाई सम्मान गरिसकिएको छ । २१औँ सम्मान बिहीबार श्रेष्ठलाई प्रदान गरिएको हो ।
थप जानकारीका लागि यी समाचाहरू पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS