ललितपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन्।
नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसकोे योगदान अग्रस्थानमा रहेको बताए।
‘आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ, राजनीतिक आस्थाले चाक्सीबरी छोडेर डेरामा बसेर गुजारा टार्नु पर्यो, गणेशमान र मङ्गलादेवीले त धेरै दुःख भोग्नु पर्यो भने दूरदराजका जनताले कति दुःख भोग्नु। परेको थियो होला ! यो हामीले बुझ्नुपर्छ, राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रवृत्ति बढेको छ, राजनीति भनेको त सिद्धान्त, आदर्श हो नि!’ उनले भने।’
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले धरै समाय राजनीतिमा भोगेको दुःख अहिलेको पुस्ताले नबुझेको गुनासो गरे।
‘लामो समयदेखि हामी राजनीतिमा छौँ, हामीले ६९ वर्ष राजनीतिमा भोगेको दुःख अहिलेको पुस्ताले बुझ्दैन, हामीले अतुलनीय कष्टकर दुःख भोग्नुपर्यो, २०२९ सालदेखि ललितपुरमा मैले सङ्गठन बनाउन लागेको हुँ,’ उनले भने।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियोे।
FACEBOOK COMMENTS