नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवम् निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताएका छन् ।
नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अभिभावकलाई आफ्ना सन्तती पढाउन कुनै कन्जुस्याइ नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सही रूपमा सदुपयोग गर्न अनुरोध गरे ।
‘शिक्षाका लागि राज्यले सुविधा सम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ,’ निवर्तमान अर्थमन्त्री महतले भने, ‘सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारको प्रशस्त सम्भावना छ ।’
देशमा राजनीतिक अस्थिरता भए पनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरूसँग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धैर्यता, इमान्दारिता र सहनशीलता कायम राख्न उनले आग्रह गरे ।
FACEBOOK COMMENTS