मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ७६ जना सहिद भएका छन् भने खरबौँ रुपैयाँ बराबरका राष्ट्रिय सम्पत्ति ध्वस्त भएका छन् । यसक्रममा कतिपय अमूल्य र बहुमूल्य कागजात र प्रमाणहरूसमेत जलेर नष्ट भएका छन् । आन्दोलनका क्रममा विभिन्न उद्योग व्यवसाय र व्यक्तिगत सम्पत्ति समेत निशानामा परे । यसबाट निजी क्षेत्रले पनि अरबौँ रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । साथै, केहीबाहेक धेरैजसो राजनीतिक दलका दर्जनौँ नेताहरूको घर तथा डेरा पनि जलाइएका छन् ।
सबै घटनाक्रमलाई हेर्दा देश यतिबेला शोकमा डुबेको छ । राजनीतिक रिक्तता, कानुनी अन्योलता र विधिको शासन ढलेको छ । सही नेतृत्व स्थापित वा पुनर्स्थापित हुनु नसके मुलुक आर्थिक रूपमा वर्षौँ पछि धकेलिएको छ भने सर्वसाधारणको जनजीवन एकप्रकारले अस्तव्यस्त र त्रासयुक्त बनिरहेको छ । यो सबै परिस्थिति निर्माण हुनुमा अहिलेसम्मका राजनीतिक दल र तिनका नेताहरूले गर्दै आएको कमीकमजोरी मुख्य कारक देखिन्छ ।
उनीहरूकै कर्मका कारण देशले आज यो दुर्दशा भोग्नुपरिरहेको छ । तै पनि उनीहरूमा पश्चाताप देखिँदैन, फेरि लुट्न पाइन्छ भनेर ठूलो मुख बाइरहेको देखिन्छ । त्यसैले होला जेन जी क्रान्तिमा आगजनीबाट क्षति हुन गएको कथित राजनीतिक माफियाहरूको घर/महललाई राज्यले पुनर्निर्माण गरिदिने प्रसङ्ग आएको । यदि यस्तो भयो भने आम नेपाली जनता त्यसविरुद्ध पुन: एकपटक सडक सङ्घर्षमा किन नउठ्ने ?
नेपालीको रगत पसिना बगाएर तिरेको करमा ठडिएका अलिशान ‘पाप कुण्ड’हरूलाई जनआक्रोशबाट ध्वस्त हुँदा सर्वसाधारण जनताले किन चिन्ता लिने ? देशभित्र गरी खान नपाउने यिनै माफिया राजनीतिक दलका नेताहरूको कारणले उत्पन्न भएको परिस्थितिले भएको होइन र विद्रोह ?
उद्योग कलकारखाना बन्द गरिए निजीकरणका नाउँमा माफिया तस्कर व्यापारीहरूलाई कौडीको दाममा बेचेर कमिसन राजनीतिलाई पेशा बनाएको नेताले खाए । तिनै भ्रष्ट पापी नेताहरूको कारणले देश ध्वस्त भयो । अझै ती हत्यारा अहंकारी देश लुटाहाहरूलाई राज्यले किन संरक्षण गर्ने ?

ती भ्रष्ट राजनीतिक माफियाहरू र तिनका नातेदारहरूको चलअचल अकुत सम्पत्ति राष्ट्रियकरण गरेर देश विकासमा लगाउनुपर्छ । मुठीभर दलाल बिचौलिया कालाबजारी तस्कर व्यापारीलाई राज्यले संरक्षण गर्नुहुँदैन ।

राजस्व छली, भ्याट छली गर्ने अनि त्यही पैसाले रजगज गर्ने न्यायालय खरिद गर्ने घुसखोरी कर्मचारीदेखि राजनीतिक दलका माफिया नेतालाई समेत हातमा लिएर आफ्नो अनुकूलको नियम कानुन बनाउनेहरूमाथि जनताले दया गर्नु आवश्यक छैन । यस्तै कालाबजारिया र राजनीतिक माफियाहरूको कारणले नेपाली जनता गरिब भएका हुन् । अन्यथा नेपालजस्तो देश आन्तरिक उत्पादन वैदेशिक सहयोगबाट रोजगार तथा स्वरोजगारको प्रशस्त सम्भावनाहरू थिए ।

सरकारी अनुदान तस्कर माफियाहरूले पाउने । हर क्षेत्रमा बिचौलियाकरण दलाली, कथित नेताहरूको कारणबाटै जरा गाडेर बसेका छन् । तिनलाई उखेलेर फाल्नुपर्छ । हरेक देशभक्त नेपालीले स्वतन्त्र स्वाभिमान भएर आफ्नै देशमा गरी खाने अवसरको सिर्जना गर्न जेन जी क्रान्ति भनेको नयाँ युगको सुरूवात पनि हो ।

कलिला बालबालिकाले आफ्नो देशभित्र भविष्य खोज्दा गोली खानुपर्ने । मौलिक हक र वैयक्तिक स्वतन्त्रताको शान्तिपूर्ण आवाज उठाउँदा हत्यारा शासकहरूले बरबर दमन गरेर गोलीको वर्षा गराए । रगतको हालमा डुब्दै सत्ताको रस्वादन गर्न आतुर भए । यस्ता अपराधीहरूलाई उन्मुक्ति दिनु हुँदैन । हरेक क्रान्तिमा निर्दोषहरूले ज्यान गुमाएका छन् । अपराधी र दलाल भ्रष्टहरूले त्यसको फाइदा उठाइरहेका छन् ।

जेन जी युवाहरूको आवाजलाई अतिरञ्जित गरेर विदेशीहरूको डिजाइन भन्ने भ्रम फैलाउने षड्यन्त्र भइरहेको छ । दलाल बिचौलिया विदेशीका एजेन्ट यिनी राजनीतिक दलभित्र खोजे पाइन्छ, अन्त जानु पर्दैन । खोज्न विदेश पुग्नु नै पर्दैन । नेपाली अनुहार भएका विदेशीका खेतालाहरू दलहरूभित्र प्रशस्त भित्रिएका छन् । दुई हात जोड्न भौतारिएकाहरू व्यक्तिहरू राजनीतिलाई पेशा बनाएर अर्बौंका मालिक कसरी यसको हिसाब किताब कसले खोज्ने ?
कुनै आयस्रोत नभएका व्यक्तिहरू रातारात करोडौँपति हुँदा देशवासी कङ्गाल भए । दुई छाक रोजी रोटी जुटाउन रोजगारीका लागि विदेशका सडक गल्लीहरूमा मारिनुपर्यो । यो स्थितिमा देशलाई पुर्याउने राजनीतिक माफियाहरूलाई अझै राज्यले भरणपोषण गर्ने ? देशभित्र उत्पादनशील बनाउने रोजगारीका प्राप्त अवसरहरू सृजना गर्ने भ्रष्ट र घुसखोरहरूलाई दण्डित गर्ने । बिचौलिया र काला व्यापारीलाई कानुनी कठघरामा जाक्दैनौँ तबसम्म देशको अर्थतन्त्रमा सुधार हुन सक्दैन ।
लुटतन्त्रमा जस्तो पिपलपाते राजनीतिले अब देश चल्दैन । नीति विधिको शासनको प्रत्याभूति आम नेपालीलाई गराउनका लागि सरकारलाई खबरदारी गर्न हर क्षेत्रबाट नागरिक पनि जागरुक भइरहनुपर्छ । यो तेरो/मेरो भनेर अल्मलिन थाल्यो भने ती जेन जी पुस्ताका युवाहरूको रगतको श्राप लाग्छ ।
प्रत्येक नेपालीले आत्मसमीक्षा गरेर आफ्ना कमी कमजोरी सच्याएर राष्ट्र निर्माणको महायज्ञमा सरिक हौँ । राजनीतिलाई पेशा बनाउने अज्ञानी, अहंकारी, मूर्ख र माफियाहरूलाई जनताले कुनै पनि ठाउँमा स्थान दिनुहुँदैन । बिना भेदभाव सबै नेपाली अटाउने साझा फूलबारीको रूपमा देशलाई समृद्ध बनाउन हर क्षेत्रबाट संकल्प गर्नुपर्छ ।
सधैँ विदेशीलाई आरोप लगाएर हाम्रा कमीकमजोरी कुकर्मलाई ढाकछोप गर्ने चाटुकारहरूको जालमा नेपाली झुक्किनु हुँदैन । विश्वमा भइरहेको आर्थिक परिवर्तन, हाम्रो सामाजिक सांस्कृतिक, जनजीवनलाई लक्षित गरेर अर्थतन्त्रको सुधार परम्परा संस्कृतिको जगेर्ना पूर्वीय दर्शनलाई गौरवका साथ अनुभूत गर्न सक्ने नयाँ युगको हामीले आरम्भ गर्नुपर्छ ।
पूर्वजहरूले हामीलाई भिख मागेर यो देश दिएका होइनन् । चीनसँग र अङ्ग्रेजहरूसँग युद्ध लडेरै नेपाललाई स्वाधिन र स्वतन्त्र राष्ट्रका रूपमा उभ्याएका हुन् । यी भिक्मङ्गा नेताहरूले यो देश बनाएका होइनन् । नदीनाला प्राकृतिक स्रोतहरू समेत दोहन गरेर विदेशीका कब्जामा पुर्याउने कथित नेताहरूको हिसाबकिताब गर्न पछि पर्नुहुँदैन ।
इतिहासका हरेक कालखण्डमा यस्ता अपराधीहरू देशमा जन्मन्छन् । देशभक्त शक्तिहरूले त्यस्तालाई परास्त गर्दै स्वतन्त्र स्वाभिमान वीरहरूले देशको रक्षा गर्नुपर्छ । युवाहरूले हर क्षेत्रबाट यो देशको मुहार फेर्न अग्रसर हुनैपर्छ । असफल प्रणाली भ्रष्ट पात्रहरूलाई कानुनी कठघरामा उभ्याउँदै राज्य दोहन गरेका जनता शोषण गरेका सम्पूर्ण राज्य स्रोतहरू देशमा फिर्ता गराउनुपर्छ ।
निष्पक्ष देशमुखी राष्ट्रमुखी जनजागरणलाई अभियानको रूपमा जेन जी पुस्ताले लैजानुपर्छ । खुङ्खार अपराधिक पृष्ठभूमिका राजनीतिक माफियाहरूले युवाहरूको जोश र जागरमाथि कुठाराघात गर्न सक्छन् बेलैमा सचेत हुनुपर्छ । संक्रमणकालीन अवस्थामा सत्ताका निमित्त देखापर्ने अवसरवादीहरूलाई युवाहरूले चिन्नुपर्छ । अवसरवादीहरू कसैका पनि हुँदैनन् । आफ्नो व्यक्तिगत फाइदा र स्वार्थपूर्तिका लागि परिवर्तनलाई आफू अनुकूल बनाउने षड्यन्त्र गर्छन्, बेलैमा होसियार हौँ अनि बुझौं ।
देशभक्तहरू निशासिनु पर्दैन हाम्रा पुर्खाले जोडेको यो पवित्र भूमिलाई जोगाउन रक्षा गर्न हामी सामर्थवान छौँ । दलीयकरणका नाउँमा आयातित विचार र दलालीकरणबाट देशलाई मुक्त गर्न बिलम्ब गर्नुहुँदैन । राज्यको सुरक्षा संयन्त्र दलाल र राजनीतिक माफियाहरूको निर्देशनमा चल्ने होइन आम नेपाली जनताको आवाजको स्पन्दन बन्नुपर्छ ।
यो पनि पढ्नुहोस्–
जेन्जीको नाम भजाएर जन्मिएको कठपुतली सरकारले कसैलाई दण्डित गर्न सक्दैन
राजसंस्था राख्ने सहमति दलहरूबाटै भएका कारण गणतन्त्र हल्लियो, ज्ञानेन्द्रले अब खोल्लान् त मुख ?
FACEBOOK COMMENTS