काठमाडौँ । ‘न्यू मिडिया’ अर्थात् युट्युबसहितका सामाजिक सञ्जालहरूमार्फत विभिन्न सामग्रीहरू प्रस्तुत गर्दा प्रस्तुतकर्ताले सामाजिक उत्तरदायित्व बोध गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
हिजो शुक्रकार प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव, सम्पादक संवाद’ विषयक कार्यक्रममा सहभागी सरोकारवालाहरूले भ्युज बटुल्नका लागि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले जस्तो पनि सामग्री प्रस्तुत गर्दा सामाजमा नकारात्मक असर समेत परिरहेको भन्दै उनीहरूले सामाजिक उत्तरदायित्व बोध गर्न जरुरी रहेको बताएका हुन् ।
युट्युबसहित सामाजिक सञ्जालको पहुँच व्यापक बनेसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा उनीहरूको थियो । हरेकले आफ्नो पेसालाई मर्यादित, विश्वसनीय र दीगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् ।
सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चार माध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा पनि व्यक्त गरे । ‘भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनुभएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ,’ कार्यक्रमका सहभागी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले भने ।
पछिल्लो समय समाचारमा नभइनहुने तत्वको अभाव देखिएको भन्दै मूलधारका सञ्चार माध्यमले समेत अधुरो समाचार दिने गरेको उनले बताए । भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चार माध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको उनको भनाइ थियो । पछिल्लो समय सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने दिशातर्फ उन्मुख देखिएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका सञ्चार माध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको चर्चा उनले गरे । ‘एउटा मान्छेलाई पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया मिडियम भएको तर म्यासेज हुन नसकेकोतर्फ गम्भीर भइ सोच्नुपर्छ ।’
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चार माध्यमसरह अनुगमन र निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताए । पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानललाई अनुगमन गर्दै आएको भन्दै उनले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘सञ्चार माध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै सञ्चार माध्यमलाई अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गरे ।
यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलधारका सञ्चार माध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताए । उनले युट्युब लगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको चर्चा गरे ।
डिजिटल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत कमेन्ट गर्दा विचार गर्नुपर्ने बताए । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यावसायिक पत्रकारिता मर्न लागेको उनको भनाइ छ । ‘पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ,’ उनले भने । यस्तै, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले कपी पेष्ट पत्रकारिताले पेसालाई अविश्वसनीय बनाएकाले रोक्नका लागि काउन्सिलले बढी ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन र मिडिया एकअर्कामा जोडिए पनि यसका बारेमा खासै चर्चा हुन नसकेको बताए । कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा नि:शुल्क गर्न नहुने उनको धारणा छ । सामाजिक सञ्जालमा सिधै विज्ञापन गएर मिडियामा विज्ञापन घटेको भए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उनले बताए । अग्रज पत्रकार शम्भु श्रेष्ठले छापामाध्यमलाई नयाँ प्रविधिसँग जोड्दै नगए सङ्कट थपिँदै जाने बताए ।
प्रेस काउन्सिलले पत्रकारिताका पछिल्ला आयाम र चुनौती सम्बोधन गर्न गत साउनदेखि सम्पादक संवाद श्रृङ्खला सुरु गरेको हो । यसलाई निरन्तरता दिइने काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दिपक खनालले जानकारी दिए ।
व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको समन्वयमा भएको कार्यक्रममा केन्द्रका संस्थापक अग्रज पत्रकार किशोर नेपाल, पत्रकार विनु सुवेदी र रुची श्रेष्ठले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सम्पादकहरू गुणराज लुइँटेल, हरिबहादुर थापा, अरुण बराल, गजेन्द्र बुढाथोकी, शिवकुमार भट्टराई, राजु सिलवाल, विमल गौतम, पुष्पहरि क्याम्प राई, मात्रिका पौडेल, सरोज मिश्र, राजेन्द्र बानियाँ, टीकाराम यात्री, कल्पना आचार्य, प्रकाश रिमाल, मिलन तिमिल्सिना, केपी ढुंगाना, पदमराज जोशी, विष्णुगोपाल कुसी, उपासना घिमिरे र कर्पोरेट खबर डटकमका कार्यकारी सम्पादक ज्योति जीसीसहितले विषयवस्तुमाथि संक्षिप्त सुझाव दिएका थिए ।
कार्यक्रममा छापामाध्यम, अनलाइन, रेडियो, टीभी, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित ९० जना सहभागी थिए । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, मधेसी पत्रकार समाज, अनलाइन टीभी संघसहित विभिन्न सञ्चार संगठनका अध्यक्ष र प्रतिनिधि समेत कार्यक्रममा सहभागी थिए ।
सञ्चारिका समूहकी महासचिव बसन्ती बाँस्तोलाले परिवारमा कतिपय कुरा साना सदस्यलाई सुनाउन हुँदैन भन्ने गरिएको भए पनि अहिले सामाजिक सञ्जालका कारण सबैले एकै पटक थाहा पाउने गरेको बताइन् । ‘मिडियामा साहुजीले यसलाई ब्यवसाय र पत्रकारको लागि यो समाज सेवा भन्ने गरेको छ । यसलाई हटाउँदै जानुपर्छ,’ उनले भनिन् ।
यस्तै, अन्तर्राष्ट्रिय पत्रकार महासंघका केन्द्रीय सदस्य बद्री सिग्देलले अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिँदा काउन्सिल जस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्ने बताए भने समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले अरु मिडियाको विश्वसनीयता घटेपछि अहिले पाठक सामाजिक सञ्जालतिर लागेको धारणा व्यक्त गरे । पत्रकार आफैँले विषयवस्तु खोज्न र प्रस्तुत गर्न नसकेपछि सामाजिक सञ्जालले विश्वास जित्न लागेको उनको भनाइ थियो । ‘पत्रकारहरू आफैं बसेर एकअर्काको गल्ती खोजेर समाधान गर्न सकिन्छ,’ उनले भने ।
FACEBOOK COMMENTS