काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगाडि सारेको पाँचबुँदे प्रस्तावकै आधारमा सत्ता पक्षसँग छलफल गर्ने भएको छ ।
आज बुधबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले रास्वपाले भिजिट भिसाबारे अगाडि सारेको पाँच बुँदे प्रस्तावकै आधारमा सत्ता पक्षसँग छलफल गर्ने निष्कर्ष निकालेको आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु शाहले जानकारी दिए ।
रास्वपाले सोमबार भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्यक्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनेलगायत प्रस्ताव अगाडि सारेको थियो ।
विपक्षी दलहरुको छलफलपछि अहिले सभामुखसहित सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल सुरू भएको छ । तर, रास्वपाले अगाडि सारेकै बुँदाहरूमा सहमति नगर्ने सत्तापक्षका नेताहरूले बताउँदै आएका छन् । गृहमन्त्रीमाथि व्यक्तिगत उजुरी वा छानविनको कुनै विषय नभएको भन्दै उनीहरूले विपक्षीले खोजेअनुसार राजीनामा र उच्चस्तरीय छानविन आयोग गठन नगर्ने बताएका हुन् ।
त्यसकारण सत्तापक्षको अडान र विपक्षीहरूको साझा भनिएको पाँचबुँदे प्रस्तावलाई टेकेर सहमति हुने सम्भावना देखिएको छैन । यसबाट जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभा बैठक अझै केही दिन अनिश्चित बन्ने अवस्था सृजना भएको छ ।
FACEBOOK COMMENTS