काठमाडौं । एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) ले मन्टेश्वरी विद्यालयहरूको हौसला बढाउन ‘अपेन डाइनामिक लिडर अवार्ड–२०२१’ को आयोजना गर्ने भएको छ ।
यही पुस २४ गते भृकुटीमडण्डपस्थित नेपाल टुरिजम बोर्डमा उक्त अवार्ड कार्यक्रम गर्न लागिएको अपेनले जानकारी दिएको छ ।
‘अपेन डाइनामिक लिडर अवार्ड–२०२१’ बारे जानकारी दिन बुधबार अपेनको केन्द्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अपेनका अध्यक्ष बद्रीप्रसाद दाहालले अपेन मन्टेशरी र बालबालिकासँग सम्बन्धित व्यक्ति र क्षेत्रको साझा संगठन भएको बताएका छन् । उनले कोरोना महामारीले बालबालिकाहरूलाई शिक्षा दिने संस्थाहरू अप्ठ्यारो अवस्थामा गुज्रिएर यहाँसम्म आइपुगेको उल्लेख गरे । अध्यक्ष दाहालले महामारीको अवस्थामा राज्यले प्रि–स्कुललाई कतैबाट पनि सहयोग नगरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले विशेषगरी यो क्षेत्रमा महिला उद्यमीहरू ९० प्रतिशत रहेको बताउँदै ५० अर्ब रूपैयाँ बरारबरको मन्टेश्वरीमा लगानी भएको जानकारी दिएका छन् । देशभरि अहिले कानुनबमोजिम ५ हजार प्रि–स्कुल सञ्चालनमा रहेको उनको भनाइ छ ।
कोरोना महामारीमा धान्न नसेकेर धेरै प्रि–स्क्ुल बन्द भएको जानकारी दिँदै दाहालले जसले त्यस्तो अवस्थामा पनि सञ्चालन गरेका उद्यमीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्न अवार्ड वितरण गर्न लागेको बताए । ‘बालबालिकाहरूको क्षेत्रमा विनाशर्त सरकारले लगानी बढाउनुपर्छ । बालमैत्रीहरू, शिक्षा लगानीकर्ताहरूसँग सहकार्य गर्दै अगाडी बढ्ने बातावरण सिर्जना सरकारले गरिदिनुपर्छ,’ उनले भने ।
त्यस्तै संस्थाका केन्द्रीय सचिव उमानाथ निरौलाले अपेन सम्पूर्ण इसीडी पूर्वप्राथमिक विद्यालय तथा किन्डरगार्टेन मन्टेश्वरीको हकहितका निम्ति स्थापना भएको बताए । संगठनमा रही ५ वर्षदेखि निरन्तर काम गर्दै आएका निरौलाले पोस्ट कोभिडबाट सबैभन्दा धेरै मारमा प्रि–स्कुल परेको सुनाए । महामारीको कारण धेरै प्रि–स्कुल बन्द भएको बताउँदै प्रतिकुल अवस्थामा पनि स्कुल सञ्चालन गर्ने ३०० वटा स्कुलका प्रिन्सिपलहरूलाई हौसलास्वरूप अवार्ड वितरण गर्न लागेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS