काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक अनिवार्य रूपमा उपभोग गर्नुपर्ने परिमाण भन्दा बढी आयोडिनयुक्त नुन नखान आम उपभोक्तामा अपिल गरेको छ ।
आयोडिन मन्थ, २०८२ अर्थात् फेब्रुअरी २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो अपिल गरेको हो । पछिल्लो समय आयोडिनयुक्त नुन खान हुँदैन र खाएमा यस्तो वा त्यस्तो हुन्छ भन्ने नकारात्मक टिकाटिप्पणी भइरहेको बेलामा मञ्चले आयो नुन खान नछाड्न तथा चाहिने भन्दा बढी नखान उपभोक्तालाई आग्रह गरेको हो ।
आयोडिनयुक्त नुनको उपभोग, यसको गुणस्तर र उपलब्धताको बारेमा समाजमा अनेक टिकाटिप्पणी र चर्चा परिचर्चा हुँदै आएको छ । नेपाली जनताको हितका लागि बनाइएको नियम कानुन र विधिलाई नै चुनौती दिँदै केही अवान्छित वा स्वार्थप्रेरित समूह, संस्था वा व्यक्तिहरूले आयो नुन खान हुँदैन खायो भने यसो हुन्छ त्यसो हुन्छ भन्दै अनेकथरिका नकारात्मक भ्रम छर्ने काम पनि हुँदै आएको मञ्चका अध्यक्ष प्रेम लाल महर्जनद्वारा जारी शुभकामना सन्देशमा भनिभएको छ ।
‘नेपालमा बढ्दो सहरीकरण र खानेबानीमा आएको परिवर्तन र तयारी खानेकुरा अर्थात् पत्रु खाद्य पदार्थ (जंक फुड) बढी उपभोग गर्न थालिएको छ भने, स्वास्थ्य मापदण्ड भन्दा बढी अर्थात् दैनिक ५ ग्राम आयो नुन मात्र शरीरलाई आवश्यक पर्नेमा अधिकतम अर्थात् १० देखि २० ग्रामसम्म उपभोग गर्न थालिएको कुरा स्वास्थ्यसँग सम्बन्धित अधिकारीहरुले सूचित गरेका छन्,’ सन्देशमा भनिएको छ, ‘सर्वसाधारण उपभोक्तालाई यस बारेमा सचेत गराउनुपर्ने अति आवश्यक भइसकेको छ । त्यसैले दैनिक अनिवार्य रुपमा उपभोग गर्ने परिमाण भन्दा बढी नुन नखानका लागि राष्ट्रिय उपभोक्ता मञ्च सबैमा हार्दिक अपिल गर्दछ ।’
त्यस्तै, केही निजी स्वार्थ भएको व्यवसायीहरूले नूनको कारोबार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने तर्क राख्दै अस्वस्थ नुन बजारमा अबैध रुपमा असरल्ल बिक्रीवितरण गरिरहेको भन्दै त्यस्तो नुन सेवनबाट जोगिन पनि मञ्चले उपभोक्तालाई सचेत गराएको छ ।

नेपाल सरकारले तोकेको नूनको अनिवार्य गुणस्तर र सर्वोच्च अदालतको मिति २०८२/०३/३२ को अन्तरिम आदेशमा नुनको कारोबारसम्बन्धी ऐन, २०५५ आएको २५ वर्ष भइसकेको र नियमावलीको अभावमा कार्यान्वयन नभएको कारणले समेत असान्दर्भिक भइसकेको ऐन तत्काल कार्यान्वयन नगर्दा आयोडिनयुक्त नुनको आपूर्ति, बिक्रीवितरण नै प्रभावित हुन सक्ने अवस्था नदेखिएकाले नुनसम्बन्धी ऐन, २०५५ तत्कालको लागि लागू नगर्ने निर्णय भएको हुँदा यस विषयमा कुनै किसिमको भ्रममा नपरी गुणस्तरीय आयो नुन नै प्रयोग गर्न मञ्चले विश्वस्त तुल्याएको छ ।

नुनको बिक्रिवितरणमा अति बेथिति, विकृति तथा कालोबजार हुन थालेपछि वि.स. २००९ सालदेखि नेपाल सरकारले निगरानी गर्न थालेको र २०२० सालदेखि संस्थागत रुपमा नै सरकारले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नुनको उपभोग, गुणस्तर र वितरण प्रणालीका बारेमा सकारात्मक र नकारात्मक प्रचार प्रसार गर्ने काम तीन दशकदेखि नै हुँदै आएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा फेब्रुअरी महिनाभर हुने यो कार्यक्रम नेपाल सरकारले विभिन्न चेतनामूलक ढङ्गले गर्दै आएको छ भने राष्ट्रिय उपभोक्ता मञ्चले विगत २० वर्षदेखि आफ्नो वार्षिक कार्यक्रमको रुपमा विभिन्न सचेतनामुलक तरिकाले देशव्यापी रुपमा गर्दै आएको छ । यस अवसरमा मञ्चले आज आयो नुनसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

FACEBOOK COMMENTS