काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरू भएको छ । महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रूपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका आकर्षक भित्तेचित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरू भएको कोषले जनाएको छ ।
यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधुसन्त पनि आउन सक्ने अनुमान गरेर त्यसैअनुरूपका तयारी सुरू गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधुसन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
महाशिवरात्रिको तयारीका लागि सोमबार अथवा मङ्गलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरू तयारीका काम पनि अघि बढाइने भएको छ । प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्रि पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
FACEBOOK COMMENTS