काठमाडौं । छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।
काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन् ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्नसक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।
छठ पर्वअन्तर्गत २८ कात्तिकमा शनिबार खरना विधि गरिनेछ । २९ कात्तिक (आइतबार) को साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने ३० कात्तिक (सोमबार) को बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ ।

विशेषगरी तराई मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुँदै गएको छ ।
