काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको निर्वाचनको नतिजा २ घन्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको र त्यसपछि २ घन्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदानसँगै मतगणनाको पनि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन कार्यालय रहेको उनले बताए।
उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी ४ उम्मेदवार छन्।
जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएकी छन्। उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निस्क्रिय गराएकाले मतपत्रमा भने उनको पनि नाम छ।
FACEBOOK COMMENTS