काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाकाबीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेको जनाइएको छ ।
राष्ट्रपतिले देश छाडेसँगै उपराष्ट्रपतिले पनि मुलुक छाडेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।
काबुलका कार्यवाहक आन्तरिक मामिलामन्त्रीले बताएअनुसार सङ्क्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ गरिने छ । स्थानीय तोलो टेलिभिजनले प्रसारण गरेको एउटा भिडिओमा उनले त्यस्तो बताएका हुन् ।
त्यस्तै समाचार संस्था एपीले एक अफगान अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार सत्ता सम्हाल्ने तयारीका लागि तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।
यसअघि समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो ।
FACEBOOK COMMENTS