भाद्र २४, काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।
समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
आजै पदवहाली, रथीबृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।
यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्से कार्यकाल आजै सकिएको छ । नवनियुक्त प्रधानसेनापति शर्माले सामूहिक नेतृत्व, तालिम र आर्थिक पारदर्शीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यसअघि नै बताइसक्नुभएको छ । उहाँका सम्मानमा सैनिक मुख्यालय टुँडिखेलमा स्वागत समारोहको आयोजना हुनेछ ।
FACEBOOK COMMENTS